काठमाडौं, २३ कात्तिक । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किम्वदन्ती रहेको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।