पूजा खड्का
स्याङ्जा, २४ कार्तिक । पुतलीबजार नगरपालिका वडा नम्बर १२ पेल्काचौरको मनकामना युवा क्लबले आयोजना गरेको वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको समीक्षा बैठक सम्पन्न भएको छ। दशैं पूर्णिमा मेला अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता समापन पश्चात आय व्यय शुक्रबार सम्पन्न भएको हो ।
भलिबल प्रतियोगिता कार्तिक १ बाट सुरु भएर ८ गते समापन भएको थियो। जसमा देश विदेशमा रहनु भएका स्थानिय दाताहरुको सहयोगमा कार्यक्रम समापन गरिएको मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिनुभयो। त्यसै गरी खेलमा प्रथम द्वितीय र तृतीय पुरस्कार अन्तर्गत राणा कालीन समयमा संघर्ष गर्दै मन्त्री बन्नु भएका जमान सिंह गुरुङ्गको परिवारको सन्ततिले आफ्ना समाजसेवी स्वर्गिय बुवा आमा देबेन्द्र गुरुङ्ग र लाल माया गुरुङ्गको सम्झनामा छोरा बुहारी दीपक गुरुङ्ग र भगवती गुरुङ्ग साथै छोरी नाति समिर गुरुङ्ग,मिलान गुरुङ्ग, मन्जित गुरुङ्ग, आशिष गुरुङ्गको सहयोगमा दुई लाख रुपैयाँ सहयोग गरेको मनकामना युवा क्लबका अध्यक्ष शर्माले बताउनुभयो।
भलिबल प्रतियोगितामा चापाकोट नगरपालिका ४ प्रथम स्थान सहित नगद एक लाख पुरस्कार ट्रफि मेडल प्रमाणपत्र हात पार्न सफल भएको थियो। त्यसै गरी शुक्लागण्डकी १२ दोस्रो भई ६० हजार नगद तेस्रोमा गल्याङ्ग ७ रहेको र ४० हजार पुरस्कार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो। त्यसै गरी पुतलीबजार ७ सान्त्वना हुन सफल रहेको थियो। महिला तर्फ प्रथम शुक्लागण्डकी नगरपालिका ११ लाई ३० हजार , दोस्रो पुतलीबजार नगरपालिका १२ स्याङ्जाले २० हजार र तेस्रो बिरुवा नगरपालिका ७ स्याङ्जाले १० हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।
समीक्षा कार्यक्रम बोल्दै पुतलीबजार नगरपालिका का वडा अध्यक्ष गन्जा सिंह गुरुङ्गले विगतको वर्षको तुलनामा यस वर्ष भलिबल प्रतियोगिता शान्त तवरमा रहेकोमा आयोजक क्लबलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसै गरी उहाले बोल्दै कार्यक्रम मा सहभागी भएर कार्यक्रम प्रति अस्पष्ट भएका विषयमा सोधेर अघि बढ्नु राम्रो हुन्छ कार्यक्रम सहभागी नहुने बाहिर बसेर संकलित रकम हिनामिना भयो भनेर दोष लगाउन नमिल्ने जानकारी गराउनुभयो। आय व्यय स्पष्ट प्रस्तुत गरेको र कार्यक्रम पारदर्शी तरिकाले अघि बढाएको र कार्यक्रम मा सहयोगी दाताहरुलाई धन्यवाद भन्नुभएको थियो।
कार्यक्रम स्थानियको सहभागितामा मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा विजय केसीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा आय व्यय प्रस्तुत गर्दै संकलित रकम ८ लाख ५८ हजार ८ सय ९० रुपैया मा खर्च भएको रकम ८ लाख १० हजार ७ सय ५ रुपैया रहेको र त्यस मध्य सहयोग गर्छु भनी आई नसकेको उठ्न बाकी रकम १लाख ५२ हजार ३ सय २५ रुपैया रहेको छ भने बचत रकम ४८ हजार २ सय ८५ रुपया रहेको विजय केसीले जानकारी गराउनुभयो।
कार्यक्रममा खेम बहादुर गुरुङ्गले अर्को वर्षको लागि आफ्नो स्वर्गीय बाबा आमाको सम्झनामा आफ्ना दाजु भाइ मिलेर प्रथम पुरस्कार आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसै गरी कार्यक्रमका अध्यक्ष राजेन्द्र शर्माले प्रतियोगिताको लागि सहयोगी दाता हरुलाई विशेष धन्यवाद भन्दै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्ण प्रति क्लबको तर्फबाट आभार प्रकट गर्दै तपाईहरुको सहयोगले कार्यक्रम सफल बन्न सहज भयो भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै खेम बहादुर गुरुङले गर्नुभएको प्रतिबद्धता मा खुशी व्यक्त गर्दै सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।