काठमाडौं ,३ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।
नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ। प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो।
‘उहाँको बैंक खाता जाँच गर्दा ठुलो रकम जम्मा भएको देखिन्छ, तर खर्च भएको स्थान देखिँदैन । त्यसकारण त्यो रकम के शीर्षकमा खर्च भएको हो भनेर अनुसन्धान आवश्यक देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। पारिवारिक समस्या सुल्झाउन उनले अमेरिका पैसा पठाएको आशंका गरिएको छ।
रास्वपाका तत्कालीन महासचिव मुकेश ढकालले सार्वजनिक रूपमै लामिछानेले हुन्डी कारोबार गरेको हुनसक्ने अभिव्यक्ति दिएका थिए। ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुन्डीमार्फत पठाउने रकम परिचालन गरेको बताएका थिए। प्रहरीले यो अभिव्यक्तिलाई पनि आधार मानेर अनुसन्धान अघि बढाएको हो।
अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पाँच वर्षअघि एक लेखमार्फत सार्वजनिक गरेकी थिइन्। ‘यस्ता धेरै विषयलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।
सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेको सम्पत्तिबारे अनुसन्धान गरिरहेको छ। कास्की प्रहरीले लामिछानेको सबै सम्पत्ति रोक्का राख्न बैंकलाई पत्राचार गरिसकेको छ।
ठगी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइने भएको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।