काठमाडौं, ५ मंसिर । सिस्नेरी एन्फा एकेडेमी घटना पिडित परिवारले होस्टेलका वार्डेनले जबरजस्ती गलत बाटो प्रयोग गर्दा आफ्नो सन्तान गुमाउनुपरेको बताउनुभएकाे छ । गत असोज १२ गते विहान सो दुर्घटना हुँदा ६ जना बालबालिकाको ज्यान गएको थियो । कुलेखानीको ड्याममा पानी बढ्न थालेपछि विद्युत प्राविधिकरणले पानी छोड्नु पर्ने भन्दै उक्त भेगका सबैलाई सुरक्षित रहन सूचनासमेत जारी गरेको अवस्थामा पनि एन्फा र व्यवस्थानका जिम्मेवार व्यक्तिको लाहप्रवाहीका कारणले ६ जनाको ज्यान गएको पीडित परिवारको आरोप छ ।
घटना भएको ५३ दिन बितिसक्दा पनि आफूहरुले न्याय नपाएको पीडित परिवारले बताउनुभएकाे छ । पीडित परिवारहरुले सो घटनाको निश्पक्ष छानविनको माग गर्दै प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रमुख राजनैतिक दलका नेता, खेलकुदमन्त्रीलगायतका निकायमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको बताइएको छ ।
साथै, एन्फा एकेडेमी पनि गैह्रजिम्मेवार रुपमा प्रस्तुत भइरहेको परिवारजनको भनाइ छ । पीडित परिवारहरुले सो घटनालाई लिएर एन्फाले बनाएको छानविन समिति आफूहरुलाई मान्य नरहेको बताउनुभएकाे छ । घटनामा प्रत्यक्ष जोडिएका व्यक्तिहरुलाई नै राखेर समिति बनाइ नाटक मञ्चन गरिएको पीडित परिवारहरुको आरोप छ ।
उक्त घटनालाई प्राकृतिक विपत्तिसँग नजोडी एक उच्चस्तरीय छानविन समिति बनाउन पीडित परिवारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित निकायको ध्यानाकार्षण गराएका छन् । सो घटनाका दोषीहरुलाई कारबाही भएमा मात्रै मृतक बच्चाहरुको आत्माले शान्ति पाउने पीडित परिवारको भनाइ छ । सो घटनामा परी निधन भएका विकल रेग्मीकी आमा कमला रेग्मीले आफूहरुलाई क्षतिपूर्ति भन्दा पनि न्याय चाहिएको बताईन् । उहाँले पीडित परिवारलाई न्याय दिने सन्दर्भमा सरकारसहित सरोकारवाला निकाय गम्भीर हुन नसकेको बताउनुभयाे ।
‘राज्यसँग हामीले कुनै करोडौंको क्षतिपूर्ति मागेका छैनौं । हामीलाई न्याय दिनुस् । हामीले १३ वर्षको बच्चा गुमाएका छौं । हामीले राज्यलाई हात जोड्दा पनि न्याय पाउन सकेका छैनौं । आजसम्म ४ पटक भयो काठमाडौंमा आएर न्याय मागेको,’– उहाँले भन्नुभयाे ।
सो घटना परी निधन भएका प्रियंश आचार्यका बाबु टीकाराम आचार्यले एन्फा र व्यवस्थानको लाहप्रवाहीले आफ्नो सन्तान गुमाउनु परेको बताउनुभयाे। न्यायिक समिति बनाएर उक्त घटनाको यथार्थ छानविन भई दोषीलाई कारबाही हुनुपर्ने उहाँले बताउनुभयाे । आफ्ना सन्तानहरुलाई एन्फाले पैसामा तुलना गरेको बताउँदै उहाँले आफूहरुलाई पैसा भन्दा पनि न्याय चाहिएको बताउनुभयाे ।
सो घटनामा परी निधन भएका अनुपम घलानकी आमाले दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताउनुभयाे। एन्फा एकेडेमी र व्यवस्थापनको लाहप्रवाहीले उक्त घटना भएको उहाँको दाबी छ । व्यवस्थापनको जिम्मेवारी पाएका जिम्मेवार व्यक्तिहरु त्यो रात बच्चालाई भित्र थुनेर आफ्नो घरमा गएर सुतेको र अन्तिम अवस्थामा आएर ताल्चा खोल्दिएर बच्चाहरुलाई भाग भनेको उहाँको दाबी छ ।