युवराज पौडेल
स्याङ्जा,१० मङ्सिर । स्याङ्जाको पुतलीबजार १ मा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीमाझ अदालत कार्यक्रमसहित जिल्ला अदालत स्याङ्जाबाट विशेष प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार उपसचिव भूमिप्रसाद शर्माले अदालत भन्नेबित्तिकै जनमानसले खोपीको देउताजस्तो विषय ठान्ने गरेको बताउँदै अब अदालत जनताको सहज पहुँचमा रहेकाले अदालतबाट प्रदान गरिने सेवाका बारेमा आम नागरिक जानकार रहनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले अझै पनि नागरिकमा अदालतप्रतिको धारणा सकारात्मक नभएको भन्दै अन्यायमा परेका विपन्न नागरिकले अदालतबाट सर्वसुलभ ढङ्गमा छिटोछरितो न्याय पाउनुपर्ने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै स्वतन्त्र विद्यार्थी युनियनका सभापति सविन रेग्मीले नयाँ पुस्ताका विद्यार्थीहरू आफ्नो अधिकारप्रति सचेत रहँदै कानुनी विषयका आधारभूत ज्ञान प्राप्त गर्नुपर्न धारणा राख्नुभयो ।
करिब सय जना कक्षा ११ र १२ तथा स्नातक तहका विद्यार्थीहरू सहभागी उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक भूमिप्रसाद शर्माले अदालतमा दिइने निवेदनका प्रकार, मुद्दाका प्रकृति, लाग्ने दस्तुर, अदालती शब्दज्ञानलगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला अदालतका सूचना प्रविधि सहायक श्रीकृष्ण तिमल्सेना, तहसिलदार शाखा अधिकृत रामप्रसाद पन्थी, क्याम्पस सञ्चालक समिति सदस्य पृथ्वी पोख्रेल, स्ववियु उपसभापति माधव क्षेत्री, नासु शोभाकान्त पौडेल, प्राध्यापक सङ्घका सभापति शङ्कर लामिछानेलगायतको उपस्थिति थियो ।