भवानी अधिकारी
स्याङ्जा,११ मंसिर । निजामति सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरेको हो।
तयारी कक्षाको औपचारिक रुपमा शुभारम्भ गर्दे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कक्षाको सहि सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिनुभयाे।
‘यहाँ छुट्टयाइएको २० दिन पर्याप्त होइन। यो तपाईका लागि सूचना मात्र हो। यसै कक्षालाई आधार मानेर नियमित अध्ययन गरेमा अवश्य सफल भईन्छ। मेहनत गर्न छाड्नु हुदैन।’ उहाँले भन्नुभयाे, ‘मलाई पनि यसरी नै निजामति सेवामा प्रवेशको वातावरण मिलेको हो। र आज यो स्थानसम्म आइपुगेकी हु।’
सरकारी जागिर अर्थात निजामति सेवा बारे पनि प्रजिअ नेपालले जानकारी गराउनुभयाे।
कार्यक्रममा करदाता सेवा कार्यालय प्रमुख गंगाा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशिल युवाहरुको पहिलो रोजाई निजामति सेवा भएको बताउदै निशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गर्नुभयाे।
मंगलबार (आज) देखि सुरु भएको तयारी कक्षामा ६० सेसन हुनेछ। दैनिक साढे ४ घण्टा पढाउनेगरि जिल्ला र केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्धारा कक्षा लिईने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयाे।