क्रान्ति अर्याल
स्याङ्जा , १५ मंसिर । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी शुक्रबार पहिलो पटक स्याङ्जामा उक्त कार्यक्रम गरिएको हो ।
जिल्लामा रहेका महिलाका अवस्था, मानव अधिकारकर्मीका काम, कर्तव्य, अधिकार, चुनौती र आवश्यकतालाई लक्षित गरि उक्त कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले महिला हिंसाको अन्त्य गर्न महिला मानवअधिकारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले अझैंपनि समाजमा महिलामाथि शारिरिक र मानसिक हिंसा हुनुको साथै सामाजिक तथा साँस्कृतिक रुपले विभेद कायम रहेको बताउनुभयो ।
महिला मानवअधिकार कर्मीले नै महिलाको पिडा बुझ्ने भएकोले लैंगिक हिंसा अन्त्यको लागि सबै महिला मानव अधिकारकर्मीसँग स्थानीय सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी समाजका कुरीति विरुद्ध आवाज उठाउँदा विभिन्न आरोप लाग्ने गरेको, महिलालाई हेर्ने दृष्टिकोण अझै सकरात्मक ढंगबाट परिवर्तन नभएको र राज्यले महिला अधिकारकर्मीलाई उपेक्षा गरेको समेत बताउनुभयो । त्यसैगरी सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मात्रै नभएर अन्य बेलामा समेत महिला मानवअधिकार रक्षकले राष्ट्रहित, लोकतन्त्र एवं सामाजिक रुपान्तरणका लागि गरेको योगदान, संघर्ष प्रति उच्च सम्मान गर्दै आगामी दिनहरुमा महिला मानवअधिकार रक्षकको क्षमता विकासका लागि थप कार्यक्रमहरु गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । प्रत्येक वर्ष नोभेम्बर २९ तारिखका दिनमा महिला मानव अधिकार रक्षकको अन्तराष्ट्रिय दिवस मनाइने गरेकोता पनि स्याङ्जामा भने पहिलो पटक यो कार्यक्रम गरिएको हो । कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल स्याङ्जाका पदाधिकारी सहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।