सामाजिक काममा प्रतिस्पर्धाको समय

२०८१ मंसिर २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ मंसिर । स्याङ्जा जिल्ला को हालको पुतलीबजार १२ र भिरकोट ३ गुमार्दी भौगोलिक तथा सेवा सुविधाको हिसाबमा अहिले पनि दुर्गम नै छ । तर पहिलेको तुलनामा अहिले केही सहजता भने रहेको छ। सय वर्ष अघि पनि ग्रामीण जीवन शैली त्यसमा पनि विविध असहज परिस्थिति हुँदा मानवीय जिउने शैली पनि फरक रहेको थियो। हिँड्नको लागि गोरेटो बाटो, खानेपानी, स्वास्थ्य,शिक्षा आवतजावत विविध समस्या मा रहेर पनि कृषि मा निर्भर रहेर जीवन यापन गरिरहेका प्रसस्त उदाहरण रहेका छन।

नुन लिनको लागि यहाँबाट बुटवल सम्म हिँडेर पिठ्युँ मा नुनको भारी बोकेर यात्रा गर्नुपर्ने परिस्थिति अवलम्बन गर्दै आउनुभएका हाम्रा अग्रजहरु अहिले को परिस्थिति धेरै सहज भएको बताउनुहुन्छ । त्यसै गरी मान्छे बिरामी हुँदा लडेर चोट लाग्दा पिठ्युँ मा बोकेर अस्पताल पुर्याउनुपर्ने परिस्थीती थ्यो। अस्पताल पनि नगण्य मात्रामा हुँदा धेरै समस्या खेप्नुपर्ने हुन्थ्यो । औषधि उपचार जडीबुटीको सदुपयोग बाट गरिन्थ्यो भने कति अस्पताल पुर्याउनुपर्ने पनि हुन्थ्यो । त्यसै गरी मान्छे को मृत्यु भयो भने दाहसंस्कारको लागि बोकेर ज्याग्दी घाट सम्म पुर्याउनुपर्ने वाध्यता थियो। हुन त अहिले पनि स्वास्थ्य उपचार गर्न र दाह संस्कार को लागि ठाउँ नजिक भएको होइन तर गाडीको केही हद सम्म सुविधा भएका कारण पहिले को झै पिठ्युँ मा बोक्नु पर्ने स्थिति मा कमी आएको छ।

त्यतिबेला शिक्षा स्वास्थ्य बत्ती गोरेटो बाटो विविध उपकरणमा समस्या भएर पनि मानवीय चेतनामा आजको तुलनामा धेरै विकसित मानसिकता भएको देखिन्छ । समाज परिवर्तन गर्ने सहजता ल्याउने समाज लाई रुपान्तरण गर्नुपर्छ भन्ने हुटहुटी त्यतिबेला को मानवमा रहेको देखिन्छ। अहिलेको तुलनामा त्यतिबेला आफ्नो सक्ती, सामर्थ्य, जोश ,जागर, लगाब, विवेक समाज सेवा मा खर्च गरेको पाइन्छ। समाज सुधार मा प्रतिस्पर्धा भएको पाइन्छ।

आज भन्दा करिब सय वर्ष अघि खानेपानीको सहजता स्वरुप बराह खोलाबाट कुलोको पानी गाउँ मा ल्याउने र खानेपानी समस्या दूर गर्ने योजना लिएर स्वर्गीय भई सक्नु भएका लाल बहादुर चन्द ले कार्यक्रम अघि बढाउदा खोलाको पानी ल्याउन सकिँदैन भन्दै स्वर्गीय मानसिंह ठकुरी ले त्यसमा सहयोग गर्न आनाकानी गरेको कुरा हालमा अग्रज हरुले बताउनुहुन्छ । तर चन्द ले नेतृत्व गर्दै स्थानिय को सहयोग र लगाव मा कुलो खनेर गाउँमा पानी ल्याएर पानीको समस्या मा सहजता ल्याएको सुन्न पाइन्छ । सुन्न मात्र नभएर त्यही कुलोको पानी अहिलेसम्म पनि उपयोग गरिरहेको पाइन्छ। तत्कालीन समय मा नौं विसे रुपया को लागतमा कुलो खनेर पानी ल्याउने काम भएको र कुलो खन्नको लागि आग्री हरुले सहयोग गरेर कुलो को पानी गाउँ मा आएको भनेर आफू विबाह गरेर आउँदा घर परिवार समाज मा कुरा गरेको सुनेको भनेर ८६ वर्षिय क्षेत्र कुमारी चन्द ले बताउनुहुन्छ । त्यो भन्दा अघि पानी को धेरै समस्या भएको र खानेपानी देखि पशु चौपायाको लागि पानी टाढा टाढा बाट बोक्नुपर्ने बस्ती बाक्लो हुँदा भीड हुने हुँदा पानी राती मा बोक्नुपर्ने परिस्थिति भएको उहाँ बताउनुहुन्छ ।

हालमा पनि पानी को समस्या त छ तर पहिलेको जस्तो समस्या छैन। केही समय अघि काधुरी संस्थाको सहयोगमा पाइपको पानी आएर खानेपानी समस्या केही सहज बनेको तर यो भन्दा अघि पानी को स्रोत साधन सदुपयोग गरेर अघि बढ्न नसकिएको र सक्ने विविध आवश्यक स्रोत साधन नभएको हुँदा खोला खोल्सा पधेरा मा धाउनुपर्ने बाध्यात्मक परिस्थितिमा रहेको स्थानिय जानकार हरु बताउनुहुन्छ। स्वर्गीय भई सक्नु भएका लाल बहादुर चन्द ले त्यसरी सामाजिक काम मा नेतृत्व गरेर ठूलो योगदान गर्नु भएको देखिन्छ । आफ्नो विवेक र सामर्थ्य सामाजिक क्षेत्रमा खर्चनु भएको छ। उहाको योगदानले नया लाई पनि केही गर्नुपर्छ कोसिस गर्यो भने असम्भव केही छैन भन्ने भावनाको विकास गराउन सफल भएको देखिन्छ । नया पुस्तालाई उहाले गरेको काम ले फरक दृष्टिकोण राख्छ ।उहाँसँगै समाज मा अरु व्यक्ति हरु पनि हुनुहुन्थ्यो त्यसको बारेमा जानकारी भएन । काम गर्ने को चर्चा युग युग रहन्छ भन्ने पनि उहाको योगदान बाट अहिले समाज मा छर्लङ्ग भएको छ।

त्यही भावनालाई मध्यनजर गर्दै कोसिस गरे सफल भइन्छ भन्दै पानीको लागि सहयोग गर्न आनाकानी गरे पनि पानी ल्याउन सफल भए र देखाएको मा स्वर्गिय लाल बहादुर चन्द को कार्य प्रति प्रभावित भई मानसिंह ठकुरीले समस्या मा रहेको स्थानीय गोरेटो बाटो मा ढुँगा बोकेर ढुंगाको सिँढी लगाएर करिब चार किलोमिटर भन्दा बढी गोरेटो बाटो बनाएर देखाएको स्थानीय हरु बताउनुहुन्छ । जसले गर्दा अहिलेसम्म हिँड्न सहजता भएको छ । खेत बारी आवतजावत गर्न बनको दाउरा घास बोक्न भारी बोकेर हिँड्न सहज भएको भनेर स्थानीय हरु बताउनुहुन्छ । यही बाटो अहिलेसम्म पनि कायम छ भने मोटर बाटो खन्ने क्रम मा केही भत्किएको छ । मोटर बाटो नआउँदा दशैं को सुरुवात सँगै बाटो सफा गर्न गाउँलेहरू भेला भएर बाटो चौतारी सफा गर्ने चलन रहिरहेको थियो । त्यसै गरी वर्षाद सकिए सँगै कुलो को मर्मत गर्ने पानी ल्याउने र पानी को सदुपयोग गर्ने प्रचलन अहिलेसम्म पनि कायम नैं रहेको छ। यसरी सरसर्ती हेर्दा त्यतिबेला सामाजिक काम गर्न मा समाजमा प्रतिस्पर्धा भएको देखिन्छ । सामाजिक काम मा लगाव भएको देखिन्छ भने सामाजिक काम मा स्थानीयको साथ र समर्थन पनि देखिन्छ।

सुरुवातको समय मा खाने पानी को रुपमा त्यही कुलो बाट ल्याएको बराह खोला को पानी प्रयोग मा रहन्थ्यो भने बिहान उठेर कपडा राखेर पानी थापेर खाने गरेको स्थानिय स्तरमा बुवा आमा हरु बताउने गर्नुहुन्छ। अहिले कृषि को लागि भनेर हिउँदको समय मा कुलो सफा गर्दै पहिरो गएको खण्डमा मर्मत गरी सफा गर्दै पानी ल्याउने चलन यथावत छ भने यही पानी ल्याएर तरकारी मा राख्न र कपडा धुन को लागि पनि सदुपयोग गरिन्छ।

स्थानिय तवर बाट नै खर्च गरेर त्यसरी बाटो कुलो को व्यवस्था तत्कालीन समय मा गरेर सहजता ल्याउने कार्य गरिन्थ्यो । गरे सम्भव छ भन्ने भावनाको विकास उहाँहरूले गराएको देखिन्छ। समाज मा सक्ती को उपयोग उपयुक्त ठाउँ मा गरेको देखिन्छ। त्यतिबेलाको समय अभाव का बावजूद पनि कृषि लाई प्राथमिकता दिएर खेतीपाती गरेर जीविकोपार्जन गरेको ज्वलन्त उदाहारण पनि हो।

त्यतिबेला को समय र अहिले को समय मूल्यांकन गर्दा समाज मा धेरै परिवर्तन भएको छ। त्यतिबेला जस्तो विविध अभाव खेप्नुपरेको छैन । समाज मा केही काम गर्न पर्यो भने योजना पार्नुपर्छ भन्ने गरिन्छ । आफू वरपर बाटो चौतारी सफा गर्न अन्य सामाजिक कार्यमा एकता हुन सक्दैन । सेवाको कार्यमा त्यति मन लगाएको देखिँदैन। बरु कुनै ठाउ मा मेला लाग्यो भने हल्ला गर्न तत्पर देखिन्छ शक्तिको प्रदर्शन गरिन्छ लडाई गर्न उत्प्रेरित देखिन्छ । तर आफू सङ्ग भएको सक्ती सही ठाउँ मा सदुपयोग गरौं भन्ने मानसिकता भएको देखिँदैन। त्यसै गरी नया पुस्ता समाज को लागि विकास र निकासको लागि चिन्तन गरेको पाइँदैन । कुनैं तालिम को आयोजना गर्यो भने त्यसलाई लिन नखोज्ने लिई हालेमा उपयोग गर्न पनि नखोजेको देखिन्छ। लगाव नगरिकन ठूलो फल खोज्ने परिपाटी बाट समाज गुज्रेको छ। थोरै लगाव राखेर धेरै फल खोज्ने परिपाटी ले समाज ग्रसित छ।

साबिकमा गुमार्दी नामले परिचित पञ्चायत काल मा विविध नाम र हाल मा भिरकोट र पुतलीबजार मा परे पनि सुरुवाती समय मा गुमार्दी नामले चिनिएको क्षेत्र मा विविध जाती को बस्ती रहेको पाइन्छ र अहिले पनि ठाउँको नाम यथावत नै रहेको छ। यहां ठकुरी क्षेत्री मगर घर्ती परियार र नेपाली जातिको बाहुल्यता प्राचीन समय मा थियो भने हाल मा पनि त्यहि खालको बस्ती रहेको छ। प्रदेश क्षेत्र को हिसाब मा टाढा नजिक जस्तो बनाएको देखिन्छ । तर हामी प्रति एकता हुनुपर्छ हामी समीप मा रहँदै आएका हौ सहकार्य गर्दै आएका हौ र अझ रहनुपर्छ भन्ने भाबना देखिँदैन । क्षेत्रको हिसाब मा जे जस्तो भए पनि भौगोलिक हिसाब मा हामी समीप छौं हाम्रो परम्परा देखिको अपनत्व आफ्नो ठाउँ मा छदैछ सरकारी हिसाब मा संरचना आफ्नो ठाँउ मा छ तर भावनात्मक र आवश्यकता को हिसाब मा हामी बिच सहकार्य र एकता हुनुपर्छ भन्ने भावना मा कमी नया पुस्ता मा देखिन्छ। वैदेशिक रोजगार ,शिक्षामा भएको परिवर्तन र बसाई सराई गर्ने प्रविर्ती ले स्थानिय बसाई मा केही फरकपन ल्याएको छ। बस्ती पहिलेको तुलनामा केही पातलो हुँदै गएको छ।

बस्ती जे जस्तो भए पनि स्थानिय स्तरमा अग्रज को कार्य देखेर प्रेरणा जाग्ने कार्य होस् सिकेको सीप को सदुपयोग होस् । समाज प्रति चिन्तन गर्ने समाजसेवी हुने भावनाको विकास र आत्मीयता रहिरहोस् । अग्रज हरुले गर्नुभएको कार्य ले नया पुस्तामा केही गर्ने प्रेरणा र हुटहुटी को विकास र चिन्तन रहोस र मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत हुनुपर्छ। यसले गर्दा कुल वंशज मा नै इज्जत र प्रतिष्ठा रहिरहन्छ ।

आज योगदान को हिसाब मा स्वर्गीय लाल बहादुर चन्द र मानसिंह ठकुरी लाई हामीले चिन्न सकियो यदि उहाँहरूले सामाजिक सेवा भावको कार्य नगरेको भए हामीलाई उहाँहरूको बारेमा जानकारी हुने थिएन । त्यसै ले मान्छे चिनाउन वंशज चिनाउन र युगौं युग सम्म अमर राख्ने काम कार्य ले गराउँछ। यस्तै कार्यमा अग्रसर भएर अघि बढ्ने प्रेरणा हामी सबैमा जाग्न सकोस् समाज सेवा गरेर युग युग बाँच्न सकियोस् भन्ने भावना हामी सबै मा जागृत रहोस्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय