क्रान्ति अर्याल
स्याङजा,१८ पुस । आइ.सि.एफ.सी फाइनान्स लिमिटेड गल्याङ शाखाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्कुल तहका विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय व्यवस्थापन, बचत, लगानी र खर्चको महत्त्वबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रम गल्याङ नगरपालिका वडा नं १ स्थित श्री सार्वजनिक नमुना मा.वि. मालुङ्गा स्याङ्जामा बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा क्रमश कक्षा १०,११ र १२ गरी ६६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो भने विद्यार्थीसँगै ३२ जना शिक्षकहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै शाखाका प्रमुख सन्दिप अधिकारीले विद्यार्थीहरुलाई नियमित बचत गर्ने बानी बसाल्न र भविष्यमा आर्थिक संकटबाट जोगिन वित्तीय योजना बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । त्यसैगरी सार्वजनिक नमुना मा.वि. का सहायक प्रधानाध्यापक शालिग्राम खनालले विद्यार्थीहरुले सिकेको ज्ञान परिवार र समाजमा फैलाउँदा समग्र आर्थिक सचेतनामा योगदान पुग्ने हुँदा यस्ता कार्यक्रमले भविष्यमा जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी संस्थाका कर्जा विभाग प्रमुख नारायण अधिकारीले बैंकिङ प्रक्रिया, डिजिटल भुक्तानी, बजेट बनाउने तरिका ,आर्थिक अनुशासनको बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । त्यस्तै नगद विभागका रुविना सोमैले विप्रेषणको महत्त्व र फाइदाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।