स्याङ्जा,२० पुस । नेपाली काङ्ग्रेसका उपसभापति पुर्वमन्त्री धनराज गुरुङले बजेट अभावमा अलपत्र परेका योजनाको दोष जनप्रतिनिधिलाई आउने गरेको बताउनु भएको छ ।
शनिवार स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भएको सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले सरकारले ठेकेदारलाई पैसा नदिएपछि ठेकेदार बाट अलपत्र पारिएका योजनाको दोष जनप्रतिनिधिलाई आउने गरेको बताउनु भएको हो । उहाँले भन्नुभयो, “सरकारसंग बजेट छैन ठेकेदारलाई दिने लाई पैसा छैन,पैसाको अभावमा देशभर योजना अलपत्र परेका छन् । त्यसको दोष हामीले लिनु परेको छ ।”
सभालाई सम्बोधन गर्दै उहाँले देशको ढुकुटीलाई वृद्धि गर्न कानुन अभाव भएको समेत तर्क गर्नुभएको छ । पुर्व कानुन मन्त्री समेत हुनुभएका गुरुङले कानुनको अभावमा देश गरिब बन्दै गएको धारणा समेत राख्नु भयो । उहाँले भन्नुभयो ,”यदि कानुन नयाँ बनाउन सकियो भने अहिले अबैध रूपमा भएका कारोबारलाई बैधानिक गराउन सकिन्छ । अबैध कारोबारलाई बैधानिक गर्न सके अहिलेको बजेट दोब्बर हुन्छ ।” आफू कानुन मन्त्री हुँदा सम्बन्धित मन्त्रालयले कानुन मस्यौदा नपठाउदा कानुन बनाउन नसकेको बताउदै पुर्व मन्त्री गुरुङले देशको आर्थिक पाटो सुधार गर्न कानुनको आवश्यकता रहेको दोहोर्याउनु भयो ।
अहिले भएको करिब १७ खर्बको बजेटलाई कानुन बन्नसाथ २५ खर्ब बनाउने सकिने बताउदै चार क्षेत्रमा बिशेष कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । जडिबुटी सम्बन्धि कानुन बनाउन सकिने बिदेशी काठले नेपालको बजार ढाक्ने र नेपाली काठ जङ्गलका कुहिएर जाने प्रवृत्तिको अन्त्य हुने बताउदै यदि जडिबुटीको कानुन बनाउन सकिएमा राज्यलाई अहिले बजेटमा दुई खर्ब थप हुने उहाँको दाबीको छ ।
त्यस्तै घरेलु मदिरा सम्बन्धि कानुन बनाएर नेपाली मदिरालाई ब्रान्डिङ गर्न सके थप दुई खर्ब राजस्व थप हुने उहाँको भनाइ छ । त्यस्तै गाजा खेती सम्बन्धि कानुन बनाउन सके थप दुई खर्ब राजस्व थप हुने उहाँको भनाइ छ ।
पाँच सय र हजारका नोट बन्द गर्ने सके ठुलोठुलो कारोबार बैकिङ क्षेत्र बाटै मात्र हुने हुँदा अबैध कारोबार बन्द हुने भन्दै त्यसबाट थप दुई खर्ब राजस्व जम्मा हुने उहाँको तर्क छ । यसरी चार कानुन बनाउन सके अहिलेको बजेटमा थप आठ खर्ब राजस्व थप हुने र देशको विकासको लागि बिदेशी सहयोग कुरिराख्नु नपर्ने उहाँले बताउनुभयो ।