क्रान्ति अर्याल
स्याङ्जा, २७ पुस। स्याङ्जा जिल्लाको गल्याङमा सञ्चालनमा रहेको नवयुग बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९औं वार्षिक उत्सव तथा साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न गरेको छ । यस अवसरमा सहकारीका ४२८ शेयर सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
संस्थाले खुत्रुके बचत कार्यक्रम र अनलाइन डान्स आइडलजस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै सदस्यहरूको मन जित्न सफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि, संविधान सभा सदस्य एवं पूर्व माननीय मुक्तिप्रसाद पाठकले सहकारीले आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याइरहेको बताउनुभयो । उहाँले सहकारीको कार्यलाई अझ विस्तार गर्दै नयाँ कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष राजेन्द्र डुम्रेले सहकारीप्रति कुनै शंका नगर्न आग्रह गर्दै सबै बचत सुरक्षित रहेको र आवश्यकता परेमा सबै शेयर सदस्यका बचत फिर्ता दिन सक्ने अवस्था रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष यौ बहादुर रानाले उपस्थित सम्पूर्णलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथिहरू किसान श्रेष्ठ, बलराम श्रेष्ठ, र वेद प्रसाद भट्टराईले सहकारीले आर्थिक क्षेत्रमा पुर्याएको योगदानबारे आफ्ना धारणा राख्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष राम प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा प्रतिवेदन मुक्तिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभयो । संस्थाका प्रबन्धक ललित थापा मगरले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीको रूपमा नारायण प्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । यसै गरी एसईईमा उत्कृष्ट GPA ल्याउने शेयर सदस्यका छोराछोरीलाई प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको थियो । त्यसै भर्खर क्यान महासंघ नेपाल गण्डकी प्रदेशका सचिवमा चयन हुनुभएका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद बस्याललाई पनि संस्थाले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खुमबहादुर बरालले गर्नुभएको थियो । नवयुग बचत तथा ऋण सहकारीले विगत ९ वर्षको यात्रा अवधिमा सदस्यहरूको विश्वास जित्दै आर्थिक रचनात्मकतामा उदाहरणीय योगदान पुर्याएको छ ।