पौष २७, पोखरा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पोखराले शनिबार पोखरा महानगरपालिका वडा नं २४, पामेमा एकदिने वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम पामे आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं २३ का वडा सदस्य रिता सुनारले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले वित्तीय साक्षरताको महत्त्वलाई उजागर गर्दै यस्ता कार्यक्रमहरूले समुदायमा आर्थिक सचेतना बढाउने बताउनुभयो ।
क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक सुभाष चन्द्र देवकोटाले संस्थाका सेवाहरू र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पार्दै सहभागीहरूलाई बचत र कर्जाको विवेकपूर्ण प्रयोग गर्न प्रेरित गर्नुभयो । उहाँले योजनाबद्ध कर्जा उपयोग र जोखिम व्यवस्थापनको विषयलाई विशेष रूपमा जोड दिनुभयो ।
कार्यक्रम अधिकृत प्रेमप्रसाद सुवेदीले सहजीकरण गर्दै बचत, खर्च व्यवस्थापन, जोखिम न्यूनीकरणका उपाय र बीमाको महत्त्वबारे व्यावहारिक जानकारी दिनुभयो ।
समापन समारोहमा वडा नं २४ की सक्रिय संस्था सदस्य लक्ष्मी सुवेदीले आफ्नो धारणा राख्दै यस्ता कार्यक्रमहरूले समुदायलाई आर्थिक रूपमा सबल र जिम्मेवार बनाउने बताउनुभयो । सहभागीहरूले उपयोगी जानकारी प्राप्त गरेको अनुभव सुनाउँदै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गरेका थिए ।
उक्त साक्षरता कार्यक्रममा ७२ जना सहभागी भएका थिए । शाखा प्रमुख वीरेन्द्र प्रसाद आचार्यले सहभागीहरू प्रति धन्यवाद व्यक्त गर्दै समुदायलाई सबल बनाउन भविष्यमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो । वित्तीय साक्षरतामा भएको यस प्रयासले सहभागीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।