क्रान्ति अर्याल
स्याङ्जा,२९ पुस। स्याङ्जाको गल्याङ नगरपालिकामा जैविक खेतीको प्रवर्द्धन गर्दै रासायनिक मल तथा विषादीको विकल्प दिन गड्यौली वितरण कार्यक्रम गरिएको छ ।प्राकृतिक स्रोतको उपयोगमार्फत उद्यम विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा किसानहरूलाई जैविक कृषि उत्पादनतर्फ उन्मुख गराइएको हो ।
सोमबार गल्याङ नगरपालिका वडा नं। ७ मा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रमको अध्यक्षता वडा नं. ७ का अध्यक्ष झबिलाल पान्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराई रहनुभएको थियो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का २३ जना, वडा नं. ११ का ९ जना कृषक रहेका थिए । जसमा सिरौसा, मुड्किल्ला, शिखरडाँडा र जिमुहाँका किसानहरू सहभागी थिए।
उक्त कार्यक्रममा प्रत्येक कृषकलाई ६.२०० किलोग्राम ९५४००–५६०० गोटा० गड्यौली निस्शुल्क वितरण गरिएको छ। जैविक मलको प्रयोगमार्फत रासायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्ने, माटोको उर्वराशक्ति वृद्धि गर्नु र जैविक उत्पादनलाई बजारीकरणको दिशामा अघि बढाउने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रमको आर्थिक सहयोग IDE प्रोजेक्टले गरेको थियो भने सहजीकरण आपसी सहयोग केन्द्र (ASK-Nepal) ले गरेको थियो ।
त्यस्तै सहकार्यमा श्री शुभ बिहानी महिला बहुउद्देश्यीय सहकारी संस्था गल्याङ र परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था गल्याङ रहेका थिए ।
उक्त कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले जैविक खेतीको महत्वबारे जोड दिँदै भन्नुभयो,”गल्याङ नगरपालिका जैविक खेतीलाई आत्मनिर्भर बनाउनतर्फ अघि बढिरहेको छ । गड्यौली मलको प्रयोगले हाम्रो कृषि प्रणालीलाई दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ । यो कदमले जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्नेछ ।”
त्यस्तै वडा नं. ७ का अध्यक्ष झबिलाल पान्डेले किसानलाई जैविक मलको प्रयोगमा प्रोत्साहित गर्दै उत्पादनमा गुणस्तर वृद्धि गर्ने र यसको बजारीकरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै गल्याङ नगरपालिकाले कृषि क्षेत्रमा नयाँ इतिहास रचेको समेत बताउनुभयो ।
कार्यक्रमले गल्याङ नगरपालिकामा जैविक उत्पादनको प्रशोधन, लेबलिङ, प्याकिङ र बजारीकरणका विधिहरूमा समेत ध्यान केन्द्रित गरेको छ । यस ऐतिहासिक कदमले किसानहरूलाई जैविक खेतीको महत्त्व बुझाउन र गल्याङलाई जैविक कृषि क्षेत्रमा परिचित बनाउन ठूलो भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।