राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

२०८१ माघ ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , ११ माघ । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा गुरुङले संविधान संशोधनका बिषयमा प्रतिपक्षले अनावश्यक प्रचार गरेको भन्दै राष्ट्रिय सहमतिमा मात्र संशोधन हुने बताउनुभएको हो ।

उहाले कांग्रेस–एमालेले संशोधनका लागि एजेण्डा तयार गर्ने र त्यसलाई राष्ट्रिय छलफलमा लैजाने जानकारी दिनुभयो । उहाँले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न पुराना कानुनलाई अध्यादेश मार्फत संशोधन गर्न खोजेको बताउनु भयो । मन्त्री गुरुङले अध्यादेशको विरोध गर्नुभन्दा पनि यसको विषयवस्तुमा ध्यान दिन आग्रह गर्नुभयो ।

सरकारले ल्याएको अध्यादेशको विभिन्न प्रतिपक्षी दलले विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै उहाँले यसको निजी क्षेत्रले स्वागत गरेको बताउनुभयो । सहकारी सम्बन्धी विधेयक ल्याएर सहकारीपीडितको समस्या समाधान गर्ने र बचतकर्ताहरुको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको पनि मन्त्री गुरुङको भनाइ छ ।

सहकारी ठगीमा संलग्नहरुको कारवाहीका लागि सरकारले संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनको दिशामा लगेको पनि मन्त्री गुरुङले बताउनुभयो ।

उहाँले लामो समय अलपत्र परेको बुटवल–नारायण सडक खण्डले अहिलेको सरकार आएपछि गति लिएको भन्दै विकासका काममा सरकार द्रुत गतिमा अगाडि बढिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार