काठमाडौं, १३ माघ । सभामुख देवराज घिमिरेको सक्रियता बढेको छ । संसद्को हिउँदे अधिवेशन आहवान भएसँगै सभामुख घिमिरेको सक्रियता बढ्न पुगेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिसकेका छन् । बैठक बस्ने मिति नजिकिएसँगै सभामुख देवराज घिमिरेले सरकार, सत्तापक्ष र प्रतिपक्षसँगको संवादलाई तीव्रता दिएका हुन् ।
संवादका क्रममा सभामुख घिमिरेले आइतबार सत्तापक्ष प्रतिपक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग छुट्टाछुटटै छलफल गरेका छन् । ती छलफलहरूमा सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर परामर्श गरेका हुन् ।
छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढङ्गले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई संसद्लाई बिजनेस दिन आग्रह गरेका छन् । समितिमा अल्झिएर रहेका विधेयक, अघिल्लो संसददेखि थाती रहेका केही विषय लगायतमा सभामुखले चासो व्यक्त गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।
आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले सदनलाई प्रभावकारी बनाउन देखाएको चासोलाई सकारात्मक रूपमा लिँदै सदनलाई सहज ढङ्गले अघि बढाउन आफूहरूको पनि सकारात्मक पहल हुने प्रतिबद्धता जनाएको कांग्रेसका मुख्य सचेतक घिमिरेले बताए ।