काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् ।
राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताए ।
प्रधानमन्त्री ओलीले शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको बताए ।
उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।