सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा अभिमुखिकरण कार्यक्रम

२०८१ माघ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,२१ माघ । स्थानीय तहमा कार्यरत महिला तथा बालबालिका शाखाका कर्मचारीहरूलाई लक्षित गरी सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले व्यक्तिगत घटना दर्तामा महिलाहरू र बालबालिकाले भोग्ने समस्याहरू, तिनका समाधानका उपाय साथै महिला अधिकार र कानूनी व्यवस्थाका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा हिंसामा परेका महिलाहरूका लागि एकद्धार संकट व्यवस्थापन प्रणाली OCMC अन्तर्गत प्रदान गरिने निःशुल्क सहयोग, उद्धार तथा अस्थायी आश्रय व्यवस्थाबारे जिल्ला अस्पताल स्याङ्जाकी OCMC व्यवस्थापक गीता देवी न्यौपानेले जानकारी दिनुभएको थियो ।

त्यसैगरी, अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले अपाङ्गता भएका व्यक्तिका अधिकार, उनीहरूका लागि परिचयपत्र वितरण प्रक्रियालगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले व्यक्तित्व विकास, सकारात्मक सोच, स्थानीय बालमैत्री शासनको पूर्व तयारी, घोषणाका चरणहरू तथा दिगोपनका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा स्याङ्जाका ११ वटा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले आ–आफ्ना स्थानीय तहमा भएका असल अभ्यासहरू आदान–प्रदान गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार