तरकारी खेतीबाट मासिक ३० हजार आम्दानी गर्दै निर्मला

२०८१ माघ २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

संगम भण्डारी

स्याङ्जा,२५ माघ । मेहनत, लगनशीलता र आधुनिक कृषि प्रविधिको सही प्रयोग गरेमा तरकारी खेती स्थिर आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने उदाहरण बन्नुभएको छ निर्मला तिवारी । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङा फाटमा पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आउनु भएकी उहाँले अहिले मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ ।

 

उहाँले तीन वर्षदेखि टमाटर, काँक्रा, बन्दा, काउली, आलु, मुला, मटर लगायतका तरकारीको व्यावसायिक खेती गर्दै  आउनु भएको छ । सुरुमा परम्परागत ढाँचामा खेती गर्ने उहाँ पछिल्ला केही वर्षहरूमा आधुनिक प्रविधि, जैविक मलको प्रयोग तथा सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिँदै आउनु भएको छ ।

उहाँका अनुसार आधुनिक कृषि प्रविधि अपनाउँदा उत्पादन बढ्ने, लागत घट्ने र गुणस्तरीय तरकारी बजारमा सहजै बिक्री गर्न सकिने भएकाले राम्रो नाफा लिन सकिन्छ। “पहिले सामान्य रूपमा खेती गर्थेँ, तर प्रविधिको सही प्रयोग गर्न थालेपछि उत्पादन बढ्यो र आम्दानी पनि राम्रो हुन थाल्यो,” उहाँले भन्नुभयो।

तर, यति मात्र पर्याप्त छैन। निर्मला जस्तै धेरै किसानले प्रविधि अपनाए पनि उच्च उत्पादन लागत, बजारमा मूल्य अस्थिरता, गुणस्तरीय बीउ तथा मलको अभाव जस्ता समस्याबाट जुझ्नुपरेको छ। “बजारमा बिचौलियाको प्रभाव बढ्दो छ, जसले गर्दा उत्पादकले सोचेअनुसारको मूल्य पाउन सक्दैनन्,” उहाँले भन्नुभयो ।

स्याङ्जा लगायतका पहाडी क्षेत्रमा किसानहरू बन्यजन्तुबाट पनि प्रभावित छन्। बँदेल, घोरल, जरायो जस्ता वन्यजन्तुले खेतीमा असर पुर्‍याउने समस्या देखिएको छ।

“हामीले धेरै मेहनत गरेर खेती गर्छौं, तर वन्यजन्तुले दिन रात खेतमा क्षति पुर्‍याउँछन्,” निर्मलाले भन्नुभयो। उहाँजस्तै धेरै किसानहरूले बन्यजन्तु नियन्त्रणको अभावलाई ठूलो समस्या मानिरहेका छन्, जसले खेतीका प्रयासलाई निराशाजनक बनाउँछ।

तरकारी खेतीबाट राम्रो आम्दानी गर्नका लागि बजार व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुने उहाँले बताउनुभयो । “स्थानीय बजार, होलसेल व्यापारी र खुद्रा विक्रेताहरूसँग राम्रो सम्बन्ध राखेपछि उत्पादित तरकारी सहजै बिक्री हुन्छ,” उहाँले थप्नुभयो। तर वास्तविकता भनेको भने साना किसानहरू अझै पनि उचित मूल्य पाउन संघर्ष गरिरहेका छन्।

यसका साथै, कृषिमा सरकारी अनुदान, कृषि बीमा र सिँचाइको सुविधा प्रभावकारी रूपमा किसानसम्म पुगेको छैन। किसानहरू तालिम त लिन्छन्, तर व्यावहारिक रूपमा उनीहरूले सरकारी नीतिको लाभ उठाउन मुस्किल छ। “सरकारले कृषिलाई अझ प्राथमिकता दिएर प्रविधि तथा आर्थिक अनुदानको व्यवस्था गर्न सके मात्र कृषिमा युवा आकर्षित हुन सक्छन्,” निर्मलाले भन्नुभयो।

निर्मला तिवारीको सफलता धेरैका लागि प्रेरणादायी छ। तर,उहाँ जस्तै मेहनती किसानहरू अझै पनि खराव सडक, आपूर्ति समस्या, बन्यजन्तुको दबाब, उच्च उत्पादन लागत र न्यून नाफाका कारण दीर्घकालीन रूपमा खेतीमा टिक्न कठिन महसुस गरिरहेका छन्।

सही प्रविधि, परिश्रम र लगनशीलता भए सानो जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। तर, जबसम्म सरकारी नीति, बजार स्थिरता र बन्यजन्तु व्यवस्थापनमा प्रभावकारी सुधार आउँदैन, तबसम्म कृषिमा किसानहरूको भविष्य अन्योलमै रहनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय