अपाङ्गता व्यक्तिहरूलाई तरकारी खेती तालिम संगै कृषि सामग्री वितरण

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा,२६ माघ । अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जामा बेमौसमी तरकारी खेतीसम्बन्धी दुई दिने विशेष तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा स्याङ्जा अपाङ्ग समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान प्रदान गर्नुका साथै आवश्यक कृषि औजार तथा सामग्री पनि वितरण गरिएको हाे ।

उक्त तालिमको समापन समारोहमा बोल्दै पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सिपमूलक कार्यक्रमहरूको आवश्यकतामा जोड दिनुभएको थियो । त्यस्तै स्थानीय तह, संघसंस्था तथा सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले कृषि पेशालाई आधुनिक तथा व्यावसायिक बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिम उपयोगी हुने बताउनुभयो ।

त्यसैगरी अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमका क्रममा कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकास बि.क., प्राविधिक सहायक विनिता शर्मा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थीहरूले तरकारी खेतीसम्बन्धी विविध ज्ञान प्रदान गरेका थिए ।

तालिम पश्चात् विभिन्न क्षेत्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कृषि औजार, बीउ तथा अन्य आवश्यक सामग्री प्रदान गरिएको थियो । उक्त कार्यक्रम अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय