जनकपुर, ३० माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुनसक्ने बताएका छन् ।
मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिरहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकासमक्ष उनले यस्तो धारणा राखेका हुन् ।
गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसङ्ख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् ।
उनले गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको बताए । उनले शिक्षामा पहुँच र प्राप्तिबाटै बालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यस कारण बालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह गरे ।
उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पुरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्न पछिल्ला समयमा देखा परेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने सुझाए ।
उनले सामुदायिक विद्यालयमा बालिकाको सङ्ख्यात्मक उपस्थिति उल्लेख्य रहेको तथा उच्चशिक्षा प्राप्त गरी चिकित्सा, इन्जिनियरिङ आदि पेसागत क्षेत्रमा बालिकाहरूले अब्बल प्रदर्शन गरिरहेको स्थिति उत्साहजनक भएको टिप्पणी गरे ।