गल्याङमा गड्यौले मल उत्पादन प्रवर्द्धन : ५३ जना किसानलाई बीउ गड्यौला वितरण

२०८१ फाल्गुन २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा ,२२ फागुन  ।  गल्याङ नगरपालिकाको समन्वयमा नेपालमा प्राकृतिक स्रोतको उपयोग मार्फत उद्यम विकास र उत्थानशीलता कार्यक्रम प्रेरणा परियोजना अन्तर्गत ५३ जना किसानलाई बीउ गड्यौला वितरण गरिएको छ । किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रम IDE नेपालको आर्थिक तथा प्राविधिक सहयोग, आपसी सहयोग केन्द्र ९आक्स नेपाल०को साझेदारी तथा परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था लि. र शुभ बिहानी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. को सहजीकरणमा सम्पन्न भएको हो । नगरपालिकाले नगरवासीको स्वास्थ्य र वातावरणलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई अर्गानिक कम्पोस्ट मलमा रूपान्तरण गर्ने उद्देश्य लिएको छ । साथै किसानलाई गड्यौला पालन मार्फत मल उत्पादन, प्रयोग र बजारीकरणमा संलग्न गराउने योजना रहेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले जैविक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै गड्यौले मल उत्पादनमा कृषकलाई संलग्न गराउन आग्रह गर्नुभयो । उहाँले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगे पनि गड्यौला मलले जमिनलाई पुनः उर्वर बनाउने भएकाले यसले स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

उक्त कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३, ७, र ११ का ५३ जना अगुवा किसानलाई ५-५ किलोका दरले बीउ गड्यौला वितरण गरिएको थियो । त्यस्तै गड्यौला पालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । नगरपालिकाले आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिँदै थप प्राविधिक सहयोग प्रदान गरिने जनाएको छ ।

यस परियोजनाबाट गल्याङ नगरपालिकाभित्र जैविक कृषि प्रवर्द्धन हुँदै वातावरण संरक्षण, उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय