हिमालय दर्शन कलेजमा एकहप्ते उद्घोषण तथा भाषणकला तालिम

२०८१ फाल्गुन २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विराटनगर ,२६ फागुन । विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, मुख्य प्रशिक्षक कवि एवं पत्रकार मीनकुमार नवोदित, एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार साह र एचओडी होटल म्यानेजमेन्ट विभाग प्रमुख अञ्जु भुलेजले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।

अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उहाँहरूको क्षमता विकास गर्न कलेजले तालिमको आयोजना गरेको क्याम्पस प्रमुख सापकोटाले बताउनुभयाे ।

विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा कलेजले पूर्ण रुपमा ध्यान दिएको उहाँको भनाइ थियो । पाठ्यक्रमको अध्ययनसँगै कलेजले विद्यार्थीको रुचीअनुसारका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै आएको प्रमुख सापकोटाले बताउनुभयाे । प्रमुख सापकोटाले एकहप्ताको तालिमबाट विद्यार्थीमा धेरै नै परिस्कार आएको उल्लेख गर्नुभयाे । कलेजले आयोजना गर्ने हरेक कार्यक्रममा अबदेखि तालिम लिएका विद्यार्थीलाई मात्रै उद्घोषणको अवसर दिने उहाँले प्रस्ट पार्नुभयाे।

तालिमपछि विद्यार्थीको वाकक्षमतामा आमूल परिवर्तन आएको देखे अत्यन्तै खुसी लागेको प्रशिक्षक नवोदितले बताउनुभयाे । उहाँले कलेजले विद्यार्थीका लागि उद्घोषण तथा भाषणकला सिक्ने अवसर प्रदान गरेकोमा धन्यवादसमेत दिनुभयाे । तालिममा उद्घोषणसँगै भाषणकला, व्यक्तित्व विकास, बोल्दा प्रयोग गरिने शब्द चयन, भाषाशैलीलगायतका विषय विद्यार्थीलाई जानकारी गराएको प्रशिक्षक नवोदितको भनाइ थियो । एउटा सफल उद्घोषकले जस्तोसुकै कार्यक्रममा मन्तव्यसमेत दिन सक्ने नवोदितले दाबी गर्नुभयाे ।

समापन समारोहमा रेलिसा अधिकारी, प्रशिका पराजुली, स्मृति सुवेदी, शिवु शर्मा, प्रशान्त भट्टराई, स्वस्तिका तिम्सिना, आनन्दी यादव, ऋषव श्रेष्ठ, टिना श्रेष्ठ, प्रतिशा ताम्राकार, रुख्सा जेवा, पूजा सिंह, ऐश्वर्य आचार्य, जाकिया खातुनलगायतले आफ्नो अनुभव सुनाउनुभएकाे थियाे । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर बेलाबेला खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख सापकाटोले बताउनुभयाे । केही दिनअघि कलेजले कोशी प्रदेशस्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको थियो । यस्तै शनिबार मात्रै कोशी प्रदेशस्तरीय सेफ प्रतियोगितासमेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय