रविले काठमाडौं उच्च अदालत पाटनमा निवेदन दर्ता गराउदै

२०८१ चैत्र ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ चैत । रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनु भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउनु भएको हो । पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने पुग्ने जानकारीपछि रास्वपा कार्यकर्ताहरु अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए । सो क्रममा लामिछानेले आफुले बोल्ने समय छिट्टै आउने भन्दै आफुले बोलेपछि धेरैको बोली बन्द हुने बताउनुभयो । उहाले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी समेत गर्नुभयो । लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गर्नुभयो ।

लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन दिन बाँकी छ । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसक्नु भएको छ । पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार