काठमाडौँ, ९ चैत। सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताउनुभएकाे छ । आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुङ्गो लगाउने काममा लागिरहेको बताउनुभयाे।
उहाँले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताउनुभयाे । सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताउनुभयाे ।
संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको भन्दै उहाँले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको बताउनुभयाे । सङ्घीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको बताउनुभयाे ।