रौतहट ,९ चैत । रौतहटको उत्तरी भेगमा आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आईनसकेको जनाएको छ ।
चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसाबारी तथा खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । वृन्दावन–१ बलेरीका बलेरी क्षेत्रका किसानहरुको करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले बताउनुभयाे ।
चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडाका किसानहरुको बालीनाली क्षति पुगेपछि उहाँहरु चिन्तामा पर्नुभएकाे छ । वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ ।