अर्घाखाँची, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनी सम्मेलन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदवासी जस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्धान र ऋषिहरूको देश भएको बताए ।
उनले पाणिनी ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताए । उनले पाणिनी ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएको दाबी गर्दै पाणिनीका बुवा यहीँको भएको जिकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथा समेत सुनाएका थिए । उनले पाणिनिसँगै रुरु र श्रृगेस्वर जस्ता महत्त्वपूर्ण स्थान रहेको बताउँदै अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गरे ।
प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।
पाणिनिले मात्र नभई शिव, सिंह ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले स्पष्ट पारे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सांसद डा.चन्द्र भण्डारी लगायतले बोलका थिए । सम्मेलन बिहीबारसम्म चल्नेछ ।