काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् । मंगलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताएका हुन् ।
उहाँले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए । उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए ।
उनले भने, ‘दुनियाँले यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतीका साथ भन्छौँ ।’
प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्नेतिर नभई कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको बताए ।