१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

२०८२ बैशाख ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ वैशाख । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको भनेर असन्तुष्टि जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

‘१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ । त्यसमा हाम्रो असहमति छ,’ नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले भने ।

शिक्षकहरूको आन्दोलन प्रति आफूहरूको पनि समर्थन रहेको भन्दै उनले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताए ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको बताए ।

‘सरकारले खोज्ने अन्तिम हतियार निजामती कर्मचारी हो भन्ने कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिनुले पनि प्रष्ट पार्छ,’ उनले भने । कर्मचारी खुसी भए गुणस्तरीय कानुन बन्ने भन्दै उनले यसअनुसार ऐन बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार