काठमाडौं, १६ वैशाख । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका शिक्षकहरू आज पनि प्रदर्शन गरेका छन् ।
शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर-बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
शिक्षक र सरकारबीच सोमबार राति भएको वार्ता सकारात्मक बनेको थियो । सोमबारको वार्ता फेरि बस्ने गरी सकिएको थियो ।
शिक्षकहरूले भने सहमति नहुँदासम्म सडकमा प्रदर्शन जारी राख्ने बताउँदै आएका छन् । सोही अनुसार आज पनि उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।