काठमाडौं, ६ जेठ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले निर्वाचन क्षेत्रको बिकास प्रक्रियामा जननिर्वाचित सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद थापाले प्रत्यक्ष निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय योगदान दिने प्रतिवद्धता दलहरुको घोषणापत्रमा नै उल्लेख भएकाले निर्वाचन क्षेत्रको बिकास प्रक्रियामा जननिर्वाचित सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । तर समाजमा एकथरी मानिसहरुले यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने भनेर पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको उहाले गुनासो गर्नुभयो । उहाले दलको घोषणापत्रमा गरिएका प्रतिवद्धताका आधारमा नै जनताको विश्वास जितेर निर्वाचित भएको बस्तुगत यथार्थलाई बजेट बिनियोजनका क्रममा हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।
सांसद थापाले सांसदहरुलाई कोष नभइ योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध बकवास हुने गरेको उल्लेख गर्नुभयो । बजेट सुन्ने, छलफल गर्ने र पारित गर्ने सांसदहरुको संवैधानिक र कानूनी अधिकार भएको उहाको भनाइ छ । उहाले निर्वाचन सांसदहरुको भूमिकालाई कमजोर बनाउने कार्य उचित र सहि हुन नसक्ने जिकिर गर्नुभयो । यसबाट व्यवस्था बिरोध र अस्थीरताबादीहरु हौसिने तथा अनावश्यक रुपमा आम नागरिक र मतदाता थप असन्तुष्ट र निराश हुने अवस्था आउन सक्ने उहाले बताउनुभयो ।