प्रकाश डोटेल
स्याङ्जा, ७ जेठ । यहाँका एक कृषकले पालन गर्दै आएको बंगुरमा ‘अफ्रिकन स्वाइन फिवर’ रोग भेटिएको छ । स्याङ्जाको चापाकोट–९ का कृषक दिपेन्द्र गहराजले पालेको बंगुरहरुमा अफ्रिकन स्वाइन फिवर संक्रमण रहेको भेटिएको हो ।
गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म संचालन गरेका स्थानीय कृषक गहतराजले फर्ममा पालेका सबै बंगुर एकाएक मर्न थालेपछि चापाकोट नगर पशु शाखाले शंकाको आधारमा बंगुरको पोष्टमार्टम गरी नमुना परिक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा पठाइएको थियो ।
केन्द्रीय प्रयोगशालाले बंगुरहरुमा ‘अफ्रिकन स्वाइन फिवर’ संक्रमण देखिएको नतिजा पठाएपछि चापाकोटमा रोग देखिएको हो । ‘अफ्रिकन स्वाइन फिवर’ देखिएपछि चापाकोट नगरपालिकाले थप संक्रमण फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्न र आन्तरिक ओसारपसार गर्न बंगुर पालक कृषकहरुलाई कडाई गरेको छ । ।
गहतराजले भाले बंगुर बाहिरबाट ल्याएकै कारण यो संक्रमण भित्रिएको चापाकोट पशु शाखाका प्राविधिक सहायक समिक्षा रोकायले अनुमान गरेको बताउनुभएकाे छ । प्राविधिक सहायक रोकायका अनुसार कृषक गहतराजले संचालन गरेको फर्ममा ५ ओटा पोथी, एक भाले बंगुर र १७ ओटा साना बच्चा सहित सबै ‘अफ्रिकन स्वाइन फिवर’ संक्रमणबाट मृत्यु भएको छ ।
कृषक गहतराजले स्याङ्जाकै गल्याङ्बाट भाले बंगुर ल्याएको खुलेको छ । यस बिषयमा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्रबाट टोली आएपछि थप अनुसन्धान हुने प्राविधिक रोकायले बताउनुभयाे । यो संक्रमण बंगुरमा मात्रै देखिने र यो रोग लागेपछि कुनै उपचार नहुने पशु चिकित्सकहरुले बताउनुभएकाे छ ।