क्रान्ति अर्याल
स्याङ्जा , २८ जेठ । खजुर भन्ने बित्तिकै प्रायः नेपाली जनमानसमा साउदी अरब, कतार वा अन्य खाडी मुलुकहरूको सम्झना आउने गर्छ तर अब त्यो धारणा बदलिन थालेको छ । गल्याङ नगरपालिका–११ जिमुहाँमा खजुर लटरम्म फलेको छ ।
करिब ६० वर्षका बाबुराम ढकाल विदेश बसाईपछि स्वदेश फर्किएर केही फरक गर्ने सोच राख्नुहुन्थ्यो । सात समुन्द्र पारि साउदी अरबको गर्मी र बालुवामा उम्रिएको खजुर देख्नुभएका ढकालको मनमा एउटै विचार पलायो,”मरुभूमिमा फल्ने खजुर हाम्रो गाउँमा पनि फल्न सक्छ कि ?”
त्यसपछि छुट्टीमा घर फर्किँदै गर्दा केही खजुरका बीउहरू पनि साथमा लिएर आउनुभयो । आफ्नै घर वरिपरि बालुवा र मल माटो मिसाएर बीउ लगाउनुभयो । दुइटा बीउ अंकुरिए । वर्षौंदेखि उहाँले निरन्तर स्याहार र मलजल गर्नुभयो । ७ वर्षपछि आएर त्यो परिश्रमले सफलता पाएको छ । अहिले खजुरका घौंचा लटरम्मै फलेका छन् ।
गाउँमा यस्तो दृश्य पहिले कहिल्यै नदेखिएको र अहिले खजुर हेर्नकै लागि गाउँ बाहिरबाट समेत मानिसहरू आउन थालेको जिमुहा निवासी कृषक रुमलाल कडेलले बताउनुभयो ।
खजुर खेतीका लागि चाहिने मुख्य शर्त हो गर्मी र घाम । जिमुहाँमा गर्मीको समयमा ४०–४५ डिग्री तापक्रम पुग्ने हुँदा खजुर फली सकेको खुसी व्यक्त गर्नुहुन्छ बाबुराम ढकाल । गाउँमा रोजगारीको अभाव छ, किसानहरू पलायन भइरहेका छन् । यदि खजुर खेती सफल भयो भने गाउँमै रोजगारी सिर्जना गर्न सकिने ढकाल बताउनुहुन्छ ।
स्याङ्जाको जिमुहाँ अब खजुर खेतीको नयाँ पहिचान बन्दै गएको छ । केही वर्ष अगाडिसम्म सम्भव नलागेको कुरा अहिले सम्भव भएको छ । यो सफलताले गाउँलेहरूमा कृषिप्रतिको आशा र उत्साह थपेको छ ।
अब प्रश्न उठेको छ कि स्याङ्जाबाट सुरू भएको यो प्रयास के नेपालका अन्य तातो भूभागहरूमा पनि सफल हुनेछ ?