पूजा खड्का
स्याङ्जा, २९ जेठ । विरुवा गाउँपालिकामा कृषि विकास स्रोत केन्द्र वालिङ्ग १ स्याङ्जाको आयोजनामा बीउ धान बाली को उत्पादन भण्डारण व्यवस्थापन सम्बन्धी कृषक तालिम सम्पन्न भएको छ। कार्यक्रम विरुवा गाउँपालिका १ को आमा समुह को भवनमा बुधबार सम्पन्न भएको हो।
कार्यक्रम कृषि तथा पशुपालन सहकारी विरुवाको माग निवेदन अनुसार कृषकलाई बीउ धान लगायत विविध बालीको विषयमा सहजीकरण हुने भन्ने उद्देश्य सहित बीउ धान उत्पादन भण्डारण व्यवस्थापन सम्बन्धी कृषक तालिमको व्यवस्था गरिएको सहकारी सचिव तथा नेपाल किसान महासंघ स्याङ्जाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो। कार्यक्रममा धान बाली उत्पादनको लागि उत्पादन गरिसकेपछि भण्डारणको लागि आवश्यक विषय र उत्पादन प्रक्रियामा आउने समस्याका बारेमा उल्लेख गरिएको थियो।
कार्यक्रममा कृषि विकास स्रोत केन्द्रका सुदिप रेग्मीले बीउ धान वाली उत्पादन र व्यवस्थापन सम्बन्धी, धान बालीमा लाग्ने रोगको बारेमा र समाधानको बारेमा जानकारी गराउनुभएको थियो। त्यसै गरी बीउ धान लगायत बाली सुरक्षित राख्नका लागि आवश्यक विषयमा सल्लाह र सुझाब गर्नुभएको थियो।
रेग्मीले स्थानिय ठाउँ हावा पानी मौसम हेरिकन बीउ बिजन छनोट गर्न आवश्यक रहने बताउनुभयो। त्यसैगरी उहाले कृषकले बीउ विजन छनोट गर्दा आवश्यक परामर्श र छलफल गरी समय अगावै मौसम ठाउँ हेरिकन ध्यान दिन आवश्यक रहेको विषयमा सुझाब दिनुभएको थियो।
उहाले धान बाली रोप्ने विधिका बारेमा रोप्न तयारीको विषयमा बीउको जातिय शुद्धताको विषयमा सजग रहेर अघि बढ्न आग्रह गर्नुभएको थियो।
कार्यक्रममा सहकारी सञ्चालक तथा नेपाल किसान महासंघका जिल्ला अध्यक्ष युवराज केसीले सहकारीमा जोडिएर रहनुभएका र कृषक पेशामा आबद्ध भएकालाई आवश्यक विषयमा तालिम उपकरण र सल्लाह सुझाबको लागि आफू तयार रहेको बताउनु भयो। उहाले सहकारीबाट बीउ बिजनको व्यवस्था पनि गरिन्छ तर सही सदुपयोग गरेर अघि बढ्न आग्रह गर्दै सबै मिलेर काम गर्दा सहज हुने बताउनुभयो । उहाले साना साना विषयमा सावधानी र सजग रहेर विवेक प्रयोग गर्दा सानो प्रयासले पनि धेरै उत्पादन गर्न सकिने बताउँदै कामले मान्छेलाई काजी बनाउँछ भन्ने जिकिर गर्नुभयो। उहाले भन्नुभयाे, “राज्य स्थानिय निकाय र कृषि सम्बधित संस्थाहरू किसान मैत्री रहन जरुरी छ” ।
उहाले कृषकलाई प्रोत्साहन गर्न कृषि पेशामा संलग्न गराउन कृषक लाई आवश्यक विषयमा सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो। केसीले कृषकले पनि कृषिमा काम गर्दै गर्दा आउने समस्याको बारेमा जानकारी गराउँदै जादा समस्या समाधानको लागि खोजी नीति गरेर समाधान निकाल्न सकिने बताउनुभयो । यस विषयमा कृषि सम्बन्धी संस्थाहरूले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो।
उहाले अघिल्लो वर्ष राम्रो बीउ बिक्री गर्न सफल सहकारी अहिले घटेको अनुभव सुनाउँदै यसलाई वृद्धि गर्नको लागि सबै जना लाग्नुपर्ने भन्दै आवश्यक विषयमा सहकारी सहयोग को लागि तयार रहेको बताउँदै बीउ उत्पादन देखि विविध बाली उत्पादन मा वृद्धि गर्न सकियोस भन्ने सहकारीको भाबना हो भन्दै सबैलाई निरन्तर लागि पर्न प्रोत्साहन गर्नुभएको थियो। उत्पादन मा जोड दिएमा बिक्री वितरण र आवश्यक क्षेत्रमा सहकारीको गर्न सहकारीको साथै साथ व्यक्तिगत रुपमा आफ्नो साथ रहने उल्लेख गर्नुभयो। उहाले उत्पादन प्रक्रिया मा जोडिने सबैलाई समान ब्यबहार गर्न पालिका र संस्था लाई अनुरोध गर्दै राजनैतिक हिसाब मा र आफन्तजन को हिसाब मा भेदभाव गर्न नहुने बताउनुभयो।
विरुवा गाउँपालिका कृषि तथा पशु पालन शाखा का सन्तोष विक ले धानबाली तथा अन्य बालीको विविध विषयमा जानकारी गराउनुभएको थियो। उहाले माटो परीक्षणले मात्र समस्या समाधान नभइ मलको राम्रो व्यवस्था मिलाउँदै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै माटोमा अम्लीय पन हटाउन कम्पोष्ट मलको प्रयोग आवश्यक रहेको उल्लेख गर्नुभएको थियो। त्यसै गरी उहाले माटो परीक्षण को विषयलाई फरक तरिकाले व्यवस्था गर्न पालिकाको योजना रहेको उल्लेख गर्दै माटोको अम्लीय पन हटाउन विधिमा कृषकले ध्यान पुर्याउनु पर्ने विषयमा जोड दिनुभएको थियो। उहाले बालीमा लाग्ने रोगको विषयमा जानकारी र समाधानको लागि केही जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बीउ धान उत्पादनको लागि बिउ लग्नु भएका कृषकहरुको सहभागिता रहेको र उहाँहरूले बाली लगाउँदा पर्ने समस्याका बारेमा समाधानका उपायका बारेमा जिज्ञासा राख्नुभएको थियो।