कांग्रेसले दुईवटै काँध थाप्दा पनि सरकारले गति पक्रिन सकेनः मिन विश्वकर्मा

२०८२ असार २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुईवटै काँध थापिदिँदा पनि गति पक्रिन नसकेको टिप्पणी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेजस्तो गरी गति पक्रिन नसकेको बताउनुभएकाे हाे ।

‘कांग्रेसले एउटामात्रै काँध होइन, दुईवटै काँध थापिदिएको छ सरकारलाई । तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ । गति पक्रिन सकेको छैन । सुशासनको सम्बन्धमा भर्खरै सरलता र सुगमता आएको छ । नागरिकहरुमा वाहा ! सरकार भन्ने ढङ्गबाट, ओहो! परिवर्तन भयो नि त भन्ने ढङ्गबाट अथवा प्रत्येक नागरिकले मन, मस्तिष्कबाट सरकारलाई एकदम मुस्कानको साथ समर्थन गरोस् भन्ने हाम्रो अपेक्षा थियो । त्यो विन्दुमा पुर्याउन नसकिएको सत्य हो,’– उहाँले भन्नुभयाे ।

साथै, नेता विश्वकर्माले अहिले आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको पनि बताउनुभयाे । उहाँले सरकार बदल्ने भन्दा पनि भइरहेको सरकारको कार्यशैली बदल्नेतिर आफूहरुले सोचिरहेको बताउनुभयाे । पार्टी केन्द्रीय समिति बैठकमा पनि सरकारको कार्यशैली परिवर्तको पक्षमा खुलेर छलफल भइरहेको उहाँले बताउनुभयाे।

‘अहिले हामी सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली बदल्नुपर्छ भन्ने निष्कर्षमा छौं । त्यही निष्कर्षको आधारमा केन्द्रीय समितिको बैठक चलिराखेको छ । यो सरकारको कार्यसम्पादनको बारेमा हामी समीक्षा गर्दैछौं । नागरिकका असन्तुष्टिलाई पनि हामीले बैठकमा छलफल गरेका छौं,’– उहाँले भन्नुभयाे ।

गत शुक्रबार शीलत निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटलाई सरकार बदल्ने भेटको रुपमा चित्रण गर्न नहुने उहाँले बताउनुभयाे । ‘दुई शीर्ष नेता शेरबहादुर देउवा र प्रचण्डको बीचमा भएको भेटघाट सौहार्र्दपूर्ण, मैत्रीपूर्ण, हार्दिकताको साथ कुनै पर्व विशेषमा भएको भेट हो । त्यो सरकार बदल्नेको बारेमा भएको भेटघाट होइन,’– उहाँले भन्नुभयाे । उहाँले सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्नेतर्फ लाग्न आवश्यक रहेको बताउनुभयाे । नेता विश्वकर्माले कांग्रेसले हामी प्रधानमन्त्रीमा छैनौं भनेर उम्किने स्थितिमा नरहेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय