काठमाडौँ ,३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै सोमबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक कुमार चौधरीलाई बोल्न समय दिनुभएको थियो ।


सांसद चौधरीले अहिलेको सत्ता संरचना भ्रष्टाचार र मानवतस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवज हो भन्दै प्रश्न गर्नुभयो । मानवतस्करीका बिरुद्धमा ४७ दिनदेखि आवाज उठाउदै आएको भन्दै उहाले स्पेन घटनाले भिजिट भिसा प्रकरण कति गहिरो छ भन्ने देखाएको बताउनुभयो ।
उहाले घुसको डिल गर्ने, मानवतस्करी गर्ने मन्त्रीहरुलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसैले नदिएको जिकिर गर्नुभयो ।
उहाले घुसको डिल गर्ने मन्त्रीहरुलाई तत्काल कारवाही गर्न माग गर्नुभयो । आफ्ना मागको सुनुवाई नभएको भन्दै रास्वपाका सांसदहरुले सोमबार पनि सदन बहिष्कार गरेका छन् ।