काठमाडौँ ,१४ साउन । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
बुधबार बागमती प्रदेशसभा सचिवालय मकवानपुरमा भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहनुभएका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित हुनुभएको हो । मतदानमा बानियाँले २२ मत प्राप्त गर्नुभयो भने लामाको पक्षमा १४ मत परेको थियो । त्यस्तै १ मत बदर भएको थियो । प्रदेशका कुल ३७ जना काँग्रेस सांसदहरूले मतदानमा भाग लिएका थिए ।


संसदीय दलको नेतामा निर्वाचित भएपछि बानियाँले लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बताउनुभयो । लोकतन्त्रमा दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन नसके पार्टी कमजोर हुन सक्ने भएकाले नेतृत्व परिवर्तनको आवश्यकता पर्ने उहाको भनाइ छ । बानियाँले पार्टीभित्रको विश्वासलाई मजबुत बनाउने उद्देश्यले कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको बताउनुभयो । उहाले बहादुर सिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै अहिले दलका नेताको हैसियत समाप्त भइसकेकोले मार्गप्रसस्त गर्नुपर्ने जिकिर गर्नुभयो । मार्गप्रशस्त गरे परिस्थीति सहज ढंगले अघि बढ्ने तर त्यसो हुन नसके लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रिया अपनाएर मुख्यमन्त्री लामालाई बिदा गरिने उहाले बताउनुभयो ।
त्यस्तै मुख्यमन्त्री लामाले संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नरहेको जिकिर गर्नुभयो । उहाले आफु संविधानको भावना अनुसार अघि बढ्ने बताउनुभयो । आफु नेतृत्वको सरकारबिरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने उहाको तर्क छ ।
यसअघि संसदीय दलमा लामाविरुद्ध असन्तुष्टि बढ्दै गएपछि गत शुक्रवार अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मत मात्रै परेको थियो । उक्त प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको थियो ।