प्रकाश डोटेल
स्याङ्जा, २६ साउन । आर्थिक वर्ष २०८२/०८३ मा स्याङ्जाका पर्यटकीय पूर्वाधार विकासका लागि पाँच करोड ६० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले एक सय एक पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्न पर्यटन तथा उद्योग कार्यालय मार्फत पाँच करोड ६० लाख विनियोजन गरेको हो ।


विनियोजित बजेटमध्ये एक करोड ३५ लाखमा २६ पर्यटन पदमार्ग निर्माण र ७० लाखको लागतमा १२ पार्क तथा उद्यान निर्माण गरिने भएको छ । बजेटको ठूलो हिस्सामध्ये तीन करोड ५५ लाखको लागतमा ६३ वटा पर्यटन पूर्वाधार, कलासंस्कृति, मठमन्दिर तथा गुम्बा, स्तुपा र होमस्टेको स्तर उन्नतीमा खर्च गरिने भएको कार्यालयले जनाएको छ ।
चालु वर्षका लागि विनियोजित बजेट दुई करोड पाँच लाखको लागतमा ३८ पदमार्ग र पार्क निर्माण हुने कार्यालयका प्रमुख नारायण ढकालले बताउनुभयाे । उहाँका अनुसार कुल बजेटको झण्डै ३७ प्रतिशतले पदमार्ग र पार्क निर्माण हुँदा आन्तरिक र बाह्यि पर्यटक आकर्षणका केन्द्र बन्नेछन् ।
जिल्लाका ११ पालिका मध्ये ५ नगरपालिकाका ६१ योजनाका लागि तीन करोड ३५ लाख विनियोजन भएको छ । चालु वर्षको विनियोजित बजेट अनुसार वालिङमा एक करोड १० लाखको लागतमा २०, पुतलीबजारमा ८५ लाख खर्चमा १५, गल्याङ्मा ६५ लाखको १२, भीरकोटमा ५० लाख खर्चमा ९ र चापाकोटमा २५ लाखको लागतमा ५ वटा योजना सम्पन्न हुनेछन् ।
त्यसैगरि ६ गाउँपालिका मध्ये आँधीखोलामा ५५ लाखको लागतमा १०, फेदीखोलामा ४५ लाख खर्चमा ९, अर्जुनर्चापारीमा ५० लाखमा ८, कालिगण्कडीमा ५० लाखको खर्चमा ८, बिरुवामा २० लाखको लागतमा ४ र हरिनाशमा ५ लाखको लागतमा एक योजना निर्माण गरिनेछ । गाउँपालिका तर्फ ४० योजनालाई दुई करोड २५ लाख विनियोजन गरिएको छ ।
जिल्लाका पर्यटकीय क्षेत्र पुतलीबजारको बहाकोट, भीरकोटको स्वरेक मैदान, फेदीखोलाको तपसी कुटि, आँधीखोलाको अन्धाअन्धी दह, पञ्चमूल सिरुबारीलाई बजेटले प्राथमिकता दिएको बताउँदै कार्यालयले डहरे देउराली, गह्रौसुर, श्रवणकुमार, हुँगीघाट, आलमदेबी, रामडाँडा, कोल्मा होमस्टे, लामडाँडा तामुलेक र दग्दी पुर्कोट लगाएतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
कार्यालयलाई गएको आर्थिक वर्ष २०८१/०८२ मा ३० योजना निर्माणमा २ करोड ५५ लाख विनियोजन भएको थियो । ३० मध्ये २९ वटा योजना निर्माण गरेर करिब ९७ प्रतिशत भौतिक प्रगति हासिल गरेको कार्यालयले कुल बजेटको झण्डै ९३ प्रतिशत अर्थात २ करोड ३७ लाख १५ हजार खर्च गर्न सफल भएको थियो ।