प्रकाश डोटेल
स्याङ्जा, २६ साउन । आन्तरिक राजश्वको करदाता सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा ५३ करोड भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न शिर्षकमा गरि ५३ करोड ३१ लाख ५१ हजार राजश्व संकलन गरेको हो ।


कार्यालयले आयकर शिर्षकमा २८ करोड ७१ लाख पाँच हजार राजश्व उठाएको छ भने मुल्य अभिबृद्धि करतर्फ १८ करोड ७६ लाख ६८ हजार संकलन गरेको छ । जरिवाना तथा ब्याज शिर्षकमा चार करोड २६ लाख ७२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले अन्त शुल्कतर्फ ८८ लाख ५५ हजार र भाडामा ५२ लाख ६८ हजार र अन्य शिर्षकमा १५ लाख ८३ हजार गरि गएको वर्ष छ शिर्षकमा कुल ५३ लाख ३१ लाख ५१ हजार राजश्व संकलन गरिएको कार्यालय प्रमुख टिकाराम रेग्मीले बताउनुभयाे ।
कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्षमा एक करोड १८ लाख ९ हजार बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ५२ करोड १३ लाख ४२ हजार राजश्व संकलन गरेको थियो ।
गएको आर्थिक वर्षमा ६७ करोड ६६ लाख १५ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ५३ करोड ३१ लाख ५१ हजार मात्रै राजश्व संकलन भएको छ । लक्ष्यको ७८ दशमलब ८ प्रतिशत मात्रै राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी सुवाष शर्मा मरासिनीले जानकारी दिनुभयाे ।