क्रान्ति अर्याल
स्याङ्जा, २७ साउन । पुतलीबजार नगरपालिका–४ ठुलीबेसी र आधिखोला गाउँपालिका–६ जोड्ने पुलको ठुलीबेसी तर्फको भाग भत्किएपछि आवागमन अत्यन्त जोखिमपूर्ण बनेको छ । विगत केही महिनादेखि पुल जीर्ण अवस्थामा रहे पनि मर्मत–सम्भार नहुँदा बालबालिकादेखि वृद्धसम्म सबैलाई पार गर्न कठिनाइ भोग्नु परेको छ ।
विद्यालय जाने साना बालबालिकालाई शिक्षक र अभिभावकले हात समातेर तल झार्नुपर्ने अवस्था रहेको छ । भत्किएको पर्खाल, खुला ढुंगाको थुप्रो र लत्रिएका फलामका रडमाथि हिँड्नु पर्ने भएकाले सानो चुकमा पनि गम्भीर दुर्घटना हुनसक्ने स्थानीयको भनाइ छ ।


स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको गुनासो गरेका छन् । उनीहरूको भनाइमा वडा नं ४ का वडा अध्यक्ष शिव थापा विगत २ वर्ष देखि सम्पर्क विहीन भएका कारण पनि समस्या दीर्घकालीन रूपमा रहँदै आएको छ । वर्षा याममा नदीको बहाव बढ्ने र ढुंगामाथि चिप्लिन सक्ने भएकाले जोखिम अझ बढेको उनीहरूको तर्क छ ।
“हामी हरेक दिन डराउँदै यो पुल पार गर्छौं । बच्चा, वृद्ध, बिरामी सबैको समस्या एउटै हो । चाँडै मर्मत हुनुपर्छ,” एक स्थानीय अभिभावकले हेर्नेकुरा संग बताउनुभयो । यस पुलले पुतलीबजार नगरपालिका–४ र आधिखोला गाउँपालिका–६ बीचको महत्वपूर्ण यातायात सञ्जाललाई जोड्ने भएकाले यसको समयमै मर्मत नगरेमा दैनिक जीवन र स्थानीय आर्थिक गतिविधि दुवै प्रभावित हुने चेतावनी स्थानीयले दिएका छन् ।