प्रकाश डोटेल
स्याङ्जा, २९ साउन । स्याङ्जामा आर्थिक वर्ष २०८१/ ०८२ मा संचालित सुपरजोन र जोन मार्फत झण्डै पाँच हजारलाई रोजगारी सिर्जना भएको छ । जिल्लामा संचालित सुन्तला सुपरजोन, आँप–लिची र गाई–भैसी जोन तथा अदुवा–बेसार र कफी खेतीमा चार हजार ९०२ जनालाई रोजगारी सिर्जना भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा आर्थिक वर्ष २०८२÷०८३ बाट राष्ट्रिय कृषि आधुनिकीकरणमा परिवर्तित कार्यक्रमले आंशिक ४१ सय र पूर्णतर्फ ८०२ गरी चार हजार ९०२ जनालाई रोजगारी सिर्जना गरेको हो । जिल्लामा विभिन्न शिर्षकमा संचालित पाँच फरक–फरक कार्यक्रम मध्ये सबै भन्दा धेरै सुन्तला सुपरजोनले रोजगारी सिर्जना गरेको छ ।


गएको वर्ष सुन्तला सुपरजोनमा तीन हजार ३१७ र गाई–भैसी जोनमा ५०५ जनालाई रोजगारी सिर्जना गरेको कार्यक्रमले आँप–लिची जोनमा ४६२ जनालाई रोजगारी दिएको छ । कफीमा ४४६ र अदुवा–बेसार खेतीमा १७२ जनालाई रोजगारी सिर्जना भएको कार्यक्रमले जनाएको छ ।
जिल्लाका ९७ मध्ये झण्डै ९० वटा वडामा संचालित सुन्तला सुपरजोन कार्यक्रमले आंशिकमा दुई हजार ८२७ र पूर्णतर्फ ४९० गरि तीन हजार ३१७ जनालाई रोजागरी दिएको कार्यक्रम प्रमुख अजय अधिकारीले बताउनुभयाे। उहाँका अनुसार २५ सहकारी, ९० कृषक समूह र २३८ कृषि उद्यमी जोडिएको सुन्तला सुपरजोनले वर्षेनी थप रोजगारी सिर्जना गर्नेछ ।
‘स्याङ्जामा झण्डै दुई हजार ३५० हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ ।’ प्रमुख अधिकारीले भन्नुभयाे, ‘कुल क्षेत्रफलको सुन्तला मध्ये ६० प्रतिशतले हाल उत्पादन दिएको छ भने थप ४० प्रतिशत सुन्तलाका बोटले उत्पादन दिन थलोपछि उत्तिकैको संख्यामा रोजगारी थपिन्छ ।’ सुन्तला खेती गर्ने कृषककोे संख्या वर्षेनी बृद्धि भएसँगै रोजगारीको सिर्जना हुँदैै जाने उहाँले जनाउनुभयाे ।
जिल्लाको चापाकोट, वालिङ, भीरकोट र गल्याङ्लाई प्राथमिकतामा राखेर संचालित गाई–भैसी जोन कार्यक्रममा ५०५ जनाले रोजगारी पाउनुभएकाे छ । १६ सहकारी, ९ समूह र ७२ कृषि उद्यमीले उद्यम गरेको गाई–भैसी जोनमा आंशिकतर्फ ४०५ र पूर्णमा एक सय जनाले रोजगारी पाउनुभएकाे हाे ।
कालीगण्डकी किनारका चापाकोट र गल्याङ् नगरपालिकामा संचालित आँप–लिची जोनले गएको वर्ष ४६२ जनालाई रोजगारी सिर्जना गरेको छ । कार्यक्रमले आंशिकतर्फ ३८२ र पूर्णमा ८० गरी ४६२ जनालाई रोजगारी सिर्जना गरेको कार्यक्रमका कृषि अधिकृत प्रतिभा बुढाथोकीले बताउनुभयाे । उहाँका अनुसार जोन क्षेत्रमा आँप–लिची लगाउने कृषकको संख्यामा ह्वात्तै बृद्धि भएको छ भने आँप–लिचीको व्यवसायिक खेतीतर्फ स्थानीय कृषकको आकर्षण बढेको छ ।
गएको एक वर्षको अवधिमा कफी खेतीतर्फ आंशिकमा ३१९ र पुर्णतर्फ १२७ गरी ४४६ जनालाई रोजगारी सिर्जना थियो । कार्यक्रमका अनुसार आंशिकतर्फ १६७ र पुर्णमा ५ गरी अदुवा–बेसार खेतीमा पछिल्लो वर्ष १७२ जनालाई रोजगारी सिर्जना भएको छ ।
कार्यक्रम मार्फत रोजगारी सिर्जना हुँदै जाने दाबी गरिएको कार्यक्रमबाट जिल्लामा पछिल्लो वर्ष झण्डै ५ हजार घरपरिवार लाभान्वित भएको कार्यक्रमका प्राविधिक प्रमुख ईन्द्र प्रसाद सुबेदीले बताउनुभयाे । सुन्तलाबाट दुई हजार ७ सय ८३, आँप–लिचीबाट एक हजार तीन सय ५८ घरपरिवार लाभान्वित भएको कार्यक्रममा गाई–भैसी पालनतर्फ २६५, कफीबाट २३२ र अदुवा–बेसार खेतीमा ८९ घरपरिवार लाभान्वित भएको सुबेदीले जानकारी दिनुभयाे ।
स्थानीय कृषकले निजी तथा आवादी वन फडानी गरेर सुन्तला रोप्न थाल्नुभएकाे छ । पछिल्लो वर्ष एक सय हेक्टर जमिनमा सुन्तलाका बिरुवा रोपण गरिएको छ । कार्यक्रमसँग सहकार्य गर्दै कृषकहरुले चापाकोटमा पछिल्लो दुई वर्षमा करिब ९० हजार आँप–लिचीका बिरुवा रोप्नुभएकाे छ । आम्दानीको राम्रो श्रोत भएपछि गाई–भैसी पालक कृषकको संख्यामा समेत बृद्धि हुँदै गएको बिरुवा गाउँपालिका–१ का भैसीपालक कृषक युवराज के.सी.ले बताउनुभयाे ।