स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत, इन्धनमा दाउराकै भर

२०७९ चैत्र १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १४ चैत । स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलब ५ प्रतिशत नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएको पाईएको हो ।

जिल्लाका ६८ हजार ९ सय ५९ घरपरिवार मध्ये ६१ हजार ६ सय ९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्याङ्कमा समाबेश गरिएको छ । झण्डै ६ हजारले मुलधाराको र १ हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्कको सुविधा र साधन अन्र्तगत ६५ दशमलब ७ प्रतिशत अर्थात ४५ हजार २ सय ९३ परिवार काठ र दाउरा मार्फत खाना बनाउने इन्धनका रुपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको संख्या २२ हजार ६ सय ४३ रहेको छ । बायोग्याँस र विद्युत प्रयोग गर्नेको संख्या करिब २ प्रतिशत मात्रै छ ।

बत्ति बाल्न प्रयोग हुने इन्धन तर्फ ९९ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्याङ्कमा देखिन्छ । नेपालकै ठूलो १४४ मेगावाटको जलविद्युत ‘कालिगण्डकी ए परियोजन’ मार्फत विद्युत प्राधिकरण र ९ दशमलब ४ मेगावाटको बुटवल पावर कम्पनी (बीपीसी) आँधीखोला वितरण केन्द्रले जिल्लाका शतप्रतिश घरधुरीका नागरिकले विद्युत सेवा उपभोग गरेको दाबी गरेका छन् ।

तथ्याङ्क अनुसार जिल्लाका ५० हजार ३ सय ३० ले सुविधा सम्पन्न र १५ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रुपमा २ हजार ६ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने १ प्रतिशत घरपरिवारको शौचालय नै छैन् ।

साधन र सुविधा अन्र्तगत स्याङ्जाका करिब ९८ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् । रेडियो ३४, टेलिभिजन ६४, साधारण मोबाईल ८० प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाईल फोन प्रयोग गर्नेको संख्या करिब ७६ प्रतिशतले हुने ५३ हजार घरपरिवार रहेको छ ।

जिल्लामा २५ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्याङ्कले देखाएको छ । तथ्याङक अनुसार ८ हजार घरपरिवारले ल्यापटप वा कम्प्यूटर प्रयोग गरेका छन् भने करिब २ हजार घरपरिवारले कार, जीप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै २० प्रतिशतले हुने १५ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय