निशान भट्टराई
स्याङ्जा, २० वैशाख । पालिकाको शिक्षा क्षेत्र उकास्न आफूहरु प्रतिबद्ध रहेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाकाे भनाइ छ । पालिकाको शिक्षा उत्थानका निम्ति विशेष शिक्षा नीति बनाइएको एवम् पालिका भरिका विद्यालयलाई एक जुट गरि अगाडि बढाउने प्रयास गरेको उहाँले बताउनुभयाे।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ७ मिर्मीमा रहेकाे श्री भगवती नमूना माध्यमिक विद्यालयद्वारा वैशाख १९ गते आयोजित ६३औं वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै अध्यक्ष थापाले यस्ताे प्रतिबद्धता जनाउनुभएकाे हाे । भगवती नमूना माध्यमिक विद्यालय देशकै एक नमूना विद्यालय रहेकोले नमूना कार्यक्रम अनुसारको कार्यक्रम गर्नुपर्ने पनि उहाँले सुझाव दिनुभयो। कार्यक्रममा विभिन्न नयाँ तथा आर्कषक विधिबाट संचालन गरिएको थियो। समारोहको उद्घाटन गमलाको फूलमा पानी हाली गरिएको थियो। कार्यक्रममा शिक्षक र्पशुराम पाण्डेय, विद्यार्थी सुदिक्षा न्यौपाने तथा निशान भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा नेवारी नाच,कौडा नाच, सालैजो नाच,नाटक आदि प्रस्तुत गरिएको थियो। विद्यार्थीहरुलाई प्रोत्साहन गर्न, विद्यालयका शिक्षकहरुले सामुहिक नाच प्रदर्शन गर्नु भएको थियो। विद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डेयले विद्यालयको प्रतिवेदन पेश गर्नु भएको थियो। सोही समारोहमा विद्यालयको शैक्षिक सत्र २०८० को क्यालेण्डर समेत विमोचन गरिएको थियो।
कालीगण्डकी गाउँपालिका शैक्षिक रुपमा अब्बल हुनुपर्ने धारणा राख्दै, त्यसका लागि पालिकाले विशेष कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष थापाले जानकारी दिनुभएकाे थियाे । केही दिन अघि,कालीगण्डकी गाउँपालिकाले आधारभूत तह सुधार गर्न ४०० घन्टे मन्टेश्वरी तालिमको सञ्चालन गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,”देशभरि आर्थिक संकट बढिरहेको छ, जसले गर्दा कालीगण्डकी गाउँपालिकामा पनि आर्थिक संकट आईपुगेको छ। जति नै आर्थिक संकट आइपरे पनि कालीगण्डकी गाउँपालिकाले शिक्षा लागि उचित वजेट विनयोजन गर्ने छ।” अहिले शिक्षा श्रेत्रमा लगानी गरे भोलीका दिनमा देशमा आइपर्ने आर्थिक लगायत अन्य संकटको समाधान आज शिक्षित हुदै गरेका विद्यार्थीहरुले गर्ने धारणा थापाले व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भट्टराईको सभापतित्वमा संचालन गरिएको समारोहमा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, कालीगण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुख भीम श्रेष्ठ, कालीगण्डकी गाउँपालिका वडा नं ७का वडाध्यक्ष अेामप्रकाश भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षकहरु हेम बहादुर थापा र हेमन्त पौडेलले गर्नु भएको थियो।