निशान भट्टराई
स्याङ्जा, ९ जेठ । विद्यालयहरुलाई अतिरिक्त क्रियाकलाप संचालन गर्न स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अनुदान प्रदान गर्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो।उहाँले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्न विद्यालयहरुले अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्ने कुरामा जोड दिनुभयो।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा जेठ ८ गते आयोजित अन्तर विद्यालयस्तरीय (कक्षा९-१२) हाजिरी जवाफ प्रतियोगितामा बोल्दै अध्यक्ष थापाले उक्त कुराको जानकारी गराउनु भयो। आफ्नो पहिलो कार्यकालमा पालिकाले शिक्षालाई विनयोजन गरेको बजेट सबै भौतिक पूर्वाधार विकासमा खर्च भएको तर यस कार्यकालमा पालिकाले शिक्षालाई विनयोजन गरेको बजेट शिक्षकको स्तर तथा विद्यार्थीको गुणस्तर उकास्न सदुपयोग गर्ने कुरा पनि जनाउनुभयो।
कालीगण्डकी गाउँपालिकाको सभाहलमा संचालन गरिएको प्रतियोगितामा कालीगण्डकी गाउँपालिका भित्रका सम्पूर्ण (११ वटा) माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो। प्रतियोगितामा कुल ३९ प्रश्न सोधिएको थियो। प्रतियोगितामा श्री भगवती नमूना माध्यमिक विद्यालयले प्रथम, श्री जनहित माध्यमिक विद्यालयले द्वितीय, श्री वीरेन्द्र माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रू ५००० र प्रमाणपत्र, द्वितीयलाई रू ३००० र प्रमाणपत्र, तृतीयलाई रु २००० र प्रमाणपत्र साथै सम्पूर्ण सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
कालीगण्डकी गाउँपालिकाले विद्यालय दैनिक बिहान ९:५० देखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने नीति बनाएको र सोही अनुसार विद्यालय सञ्चालन गर्न अध्यक्ष थापाले आग्रह गर्नुभयो। त्यसैगरी ९:५० देखि १०:०० को बिचमा रहेको १० मिनेटमा विद्यार्थीलाई प्रवचन दिने तथा विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गर्ने समय दिन पनि सबै विद्यालयलाई अनुरोध समेत गर्नुभयो।
कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा श्री भगवती नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डे,कालीगण्डकी गाउँपालिका वडा नं १का वडाध्यक्ष तथा कालीगण्डकी गाउँपालिकाका प्रवक्ता कृष्ण लामिछाने, कालीगण्डकी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष यादव पाण्डेय लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन कालीगण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुख भीम श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रमको समापन गर्दै, प्रतियोगिताको मूल उद्देश्य सामाजिक विकास कार्यालय स्याङ्जाले यहि जेठ १४ गते आयोजना गर्ने अन्तर पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी पठाउन गरिएको कार्यक्रम अध्यक्ष सावित्रा कोइरालाले जानकारी गराउनु भयो।