स्याङ्जामा राजश्व संकलनमा बृद्धि, दुर्घटनामा कमि

२०८० श्रावण २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २५ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत वर्ष एक करोड भन्दा बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लंघन गर्ने १३ हजार एक सय २७ सवारी साधनलाई कारबाही गर्दा एक करोड ७२ हजार राजश्व संकलन भएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ९ सय २२ मोटरसाईकललाई कारबाही गर्दा सबै भन्दा बढि ४० लाख चार हजार राजश्व संकलन भएको छ । प्रहरीले तीन हजार दुई सय ५४ जिप, कार र भ्यानलाई कारबाही गर्दा २३ लाख ८६ हजार पाँच सय राजश्व संकलन भएको जनाएको छ ।

गएको वर्ष नियम उल्लंघन गर्ने एक हजार छ सय ६९ बस कारबाहीमा पर्दा ११ लाख ९५ हजार, एक हजार ४२९ ट्याक्टरबाट १० लाख ८६ हजार पाँच सय राजश्व उठेको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । एक हजार ८९ ट्रक कारबाहीमा पर्दा ८ लाख १८ हजार पाँच सय र सात सय ६४ अन्य सवारी साधन कारबाहीमा पर्दा ५ लाख ८१ हजार पाँच सय राजश्व उठेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कारबाही संख्या र राजश्व संकलनमा समेत बृद्धि भएको छ । अघिल्लो वर्ष नौ हजार नौ सय १६ सवारी साधन कारबाहीमा गर्दा ७० लाख ८४ हजार रुपैयाँ राजश्व संकनल भएको ट्राफिक प्रहरी स्याङ्जा प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयाे ।

ट्राफिक प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष भन्दा गत वर्ष दुर्घटनामा न्यूनिकरण आएको छ । अघिल्लो वर्ष २९ सवारी दुर्घटना हुँदा १८ महिला, १७ पुरुष र ५ बालबालिका गरी ४० जनाले ज्यान गुमाएका थिए भने पछिल्लो वर्ष भएको २१ सावरी दुर्घटनामा १० पुरुष, एक महिला र एक बालबालिका गरी १२ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटना र नियम उल्लंघन न्यूनिकरण गर्न ट्राफिक प्रहरीले जिल्लाभर ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ । गत वर्ष ट्राफिक प्रहरीले दुई हजार आठ सय ९० कार्यक्रम मार्फत २२ हजार पाँच सय ४६ जना चालक, सह–चालक, यात्रु र विद्यार्थीलाई सचेतनामा समाबेश गरेको थियो ।

ट्राफिक प्रहरीले विद्यालय, सामुदाय, पुराना र नयाँ चालक, व्यवसायीबीच सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । जिल्ला सदरमुकाम पुतलीबजार, व्यापारिक केन्द्र वालिङ, राजमार्गस्थित फेदीखोला र गल्याङ् तथा ग्रामीण क्षेत्र चापाकोट, सेतिदोभानमा चेकपोष्ट खडा गरेर दुर्घटना न्यूनिकरण र नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय