वालिङमा स्वास्थ्यकर्मी घरदैलो कार्यक्रम

२०८० श्रावण २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २५ साउन । स्याङ्जाको वालिङ नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यक्रम सुरु भएको हो ।

हस्ताक्षर कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगर विकासको लागि नागरिकको स्वास्थ्य सबल हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सबलताको लागि नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको बताउनुभयाे । नगरको समुन्नतका लागि सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै प्रमुख खाँणले सक्षमताको लागि स्वास्थ्य पहिलो शर्त रहेको बताउनुभयाे ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रम अर्थपूर्ण हुनेमा नगरपालिका विश्वस्त छ । नगरपालिकाका अनुसार सरुवा रोगहरुको प्रकोपको जोखिम न्यूनिकरण गर्दै रोगहरुको बारेमा सचेतना फैलाउँदै नसर्ने रोगहरुको बारेमा पनि नागरिकलाई चेतना फैलाउन कार्यक्रम प्रभावकारी हुनेछ ।

नर्सिङ घरदैलो कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुले नागरिकलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका बारेमा जानकारी दिँदै उनीहरुलाई स्वस्थ जीवनशैलीको आचरण अवलम्बन गर्न सचेतना फैलाउने छन् ।

शहरी क्षेत्र होस वा ग्रामीण भेगमा बसोबास गर्ने आमनागरिक नसर्ने रोगका कारण धेरैले अकालमै मृत्युबरण गर्न बाध्य छन् । पछिल्लो समय बढ्दै गएको नागरिकहरुको अस्वास्थ्य गतविधि सम्बन्धी चेतना फैलाउन यस कार्यक्रम सार्थक हुनेमा नगरपालिकाले विश्वास लिएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक हिरा निरौला, वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले नर्सिङ घरदैलो कार्यक्रमले नेपालमा व्याप्त बनेको नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनिकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय