स्याङ्जा, ७ असोज । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् ।
कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।
मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । आँखा शिविरमा छ सय १७ जना महिला र पाँच सय छ जना पुरुषले सेवा लिएको न्यौपानले बताउनुभयो । उहाँका अनुसार मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने ३३ जनालाई र अन्य जटिल खालका समस्या भएका ५५ जना आँखाका बिरामीलाई स्याङ्जा जिल्ला आँखा अस्पताल वालिङमा रिफर गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराको विशेष सहयोगमा वालिङमा सञ्चालित जिल्ला आँखा अस्पतालमा आँखाका बिरामीको उपचार हुँदै आएको छ ।
आँखा शिविरमा कालीगण्डकी गाउँपालिकासहित गल्याङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, पाल्पाको वग्नाशकाली र रम्भा गाउँपालिकाका बिरामी सेवा लिन आएको न्यौपानेले बताउनुभयो । उहाँले एक हजार एक सयलाई औषधि र पाँच सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको बताउनुभयो ।
स्थानीय अनिष न्यौपानेले कालीगण्डकी गाउँपालिकामा आँखा अस्पताल नहुँदा धेरैले आँखाको रोग पाल्नुपरेको बताउनुभयो । उहाँले गाउँपालिकामा अत्याधुनिक मेसिन र प्रविधिसहितको आँखा शिविर हुँदा विपन्न परिवार र वृद्धवृद्धा सबैभन्दा धेरै लाभान्वित भएको दाबी गर्नुभयो ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले हिमालयन आँखा अस्पताल पोखराको समन्वनमा दसैँतिहार पछाडि आँखा विभाग सञ्चालन गर्ने बताउनुभयो । उहाँकाअनुसार पालिकाले सञ्चालन गरेको कालीगण्डकी अस्पतालमा रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ओपिडी, इमर्जेन्सी, फार्मेसी, सामान्य शल्यक्रियालगायतका सेवा छन् । उहाँले हाल सम्पन्न भएको शिविरका लागि आर्थिक र प्राविधिक सहयोग गरेको बताउनुभयो । अध्यक्ष थापाले दसैँ र तिहारको बीचमा बृहत् आँखा शिविर सञ्चालन गरेर बाँकी रहेका आँखाका बिरामीको शल्यक्रियासहित उपचार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
यहाँका स्थानीय जटिल खालका समस्या आँखामा आए पाल्पा, बुटवल, पोखरा, काठमाडौँलगायतका स्थानमा उपचारका लागि जाने गर्दछन् । गाउँमा आँखा अस्पताल नहुँदा ठूलो मात्रामा यहाँ नागरिकले आर्थिक तथा शारीरिक समस्या भोग्नुपरेको अध्यक्ष थापाको भनाइ छ । कालीगण्डकी अस्पतालमा आँखा विभाग सञ्चालनमा ल्याएपछि भने धेरैलाई सहज हुने उहाँको विश्वास छ ।