वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने तयारी

२०८० माघ १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बडाइएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किरातीले उक्त कुरा बताउनुभएको हो । “निगमको पुनःसंरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने देखिएकाले हामी यो प्रणालीमा जाने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । छिट्टै यस विषयमा निर्णय हुनेछ ।”

मन्त्री किरातीले आवश्यक अध्ययन र सरोकारवालाको सुझावका आधारमा वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लगेर निगमको सुधार गर्नुपर्ने अपरिहार्यता भएको जिकिर गर्नुभयो । उहाँले विभिन्न देशमा व्यवस्थापन करार प्रणाली प्रभावकारी देखिएकाले नेपालले पनि यो अभ्यास अवलम्बन गर्दा उपयुक्त हुने धारणा राख्नुभयो ।

पर्यटनमन्त्री किरातीले वायुसेवा निगम अहिलेकै अवस्थामा सञ्चालन हुन नसक्ने निष्कर्षमा मन्त्रालय पुगेको भन्दै निगमलाई नयाँ ढङ्गले संरचनागत सुधार गरेर लैजाने योजना बनाइएको जानकारी दिनुभयो ।

सांसद प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरिनुपर्ने धारणा राख्दै आवश्यक अध्ययन गरेर मात्रै विमानस्थल निर्माण गरिनुपर्ने बताउनुभयो । सांसद उदयशमशेर जबराले निगममा भएका जहाजको प्रभावकारी सञ्चालन गर्नुका साथै नयाँ जहाज थपेर अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

सांसद डा धवलशमशेर जबराले करार व्यवस्थापनमा लगेर वायुसेवा निगम सुधार्ने योजना उपयुक्त भए पनि यसको औचित्यता र सान्दर्भिकतालाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद सुनिता बरालले वायुसेवा निगमको विद्यमान स्रोत साधनको भरपुर उपयोग गर्दै हालको अवस्थालाई सुधारेर सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।

सांसद शिशिर खनालले निगमको जहाज बारम्बार ग्राउण्डेड हुनेगरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै प्राविधिक मर्मत गर्दै उडान सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करार दिन नहुने धारणा राख्दै विद्यमान अवस्थालाई सुधार गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

सांसद दामोदर पौडेल बैरागीले निगमलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उर्तानुपर्नेमा जोड दिनुभयो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले जहाज थपेर अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तार गर्नेतर्फ लागिरहेको जानकारी दिनुभयो ।

तीन जहाज खरिद गरिने

पर्यटनमन्त्री किरातीका अनुसार निगमले आन्तरिकतर्फका दुर्गम क्षेत्रका विमानस्थलमा उडानका लागि तीन थान ट्वीनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । आन्तरिक उडानका लागि तीन थान एटीआर–७२ र अन्तर्राष्ट्रिय उडानका तीन थान न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । निगमसँग हाल आन्तरिक उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय