सिकाइको मिनी सङग्राहलय बन्यो,स्याङ्जाको दियालो आधारभूत विद्यालय

२०८० माघ २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा,२६ माघ ।
पुतलीबजारको कुलबाँध गाउँ नजिकै आँधीखोलाको किनारमा एकान्त लाग्ने ठाउँ छ जहाँ प्रकृतिले सबै सुन्दरता खन्याए जस्तो अनुभूति हुन्छ । त्यस सुन्दर ठाउँमा करिब १ रोपनी १५ आना जग्गामा फैलिएको एउटा सानो आधारभूत विद्यालय छ– दियालो आधारभूत विद्यालय ।

विद्यालयको गेटमै पक्की सडक जोडिएको छ । चारैतिर पक्की घेराबार छ । घेराबारभित्र सुन्दर भुकम्प प्रतिरोधी भवन छन् । अनि भवनभित्र छन्– सुन्दर भविष्य बोकेका विद्यार्थीहरु । विद्यार्थीहरुले कक्षाकोठामा सजाइएका सिकाइ सामग्रीका माध्यमबाट सिकिरहेका छन् । प्रत्येक कक्षाकोठा उस्तै गरि मिहिनेतका साथ सिकाइमैत्री बनाइएका छन् ।

यस विद्यालयको सुन्दर पक्ष भनेको नै यहाँको मिनी सङ्ग्राहलय हो जुन शिक्षक अभिभावक र विद्यार्थीको सक्रियतामा सजाइएको हो । प्रधानाध्यापक हरिप्रसाद कोइरालाले ‘रुम टु रिड’ संस्थाको तालिमबाट विद्यालय परिवर्तनको रुपरेखा कोर्नुभयो । उहाँले भन्नुभयो ‘गरे सकिन्छ’ भन्ने तालिमबाट प्राप्त गरेको आत्मविश्वासलाई व्यवहारमा उतार्दै प्रयोगात्मक सिकाइका लागि प्रयास गरे ।

उहाँले शिक्षकको साथ पनि लिनुभयो । समुदाय र अभिवाकको विश्वास पनि जित्नुभयो । घरघरमा गएर पुराना र लोप हुन लागेका विभिन्न वस्तुहरु निर्माण गर्ने अभियान चलाउनुभयो । अभिभावको साथ र सहयोगले उहाँले मिनी सङ्ग्राहलय नै तयार पार्नुभयो ।

विद्यार्थीलाई लोप हुन लागेका वस्तुहरुको प्रत्यक्ष अवलोकनमार्फत् सिकाउने उद्देश्यले मिनि सङ्ग्राहलय बनाइएको हो । यहाँ गाउँघरमा परम्परागत रुपमा प्रचलनमा रहेका तर पछिल्लो पुस्ताले बिर्सिँदै गएका वस्तुहरुको सङ्कलन गरिएको छ । स्याखु, खुर्पेटो, डोको, जाँतो, ढिकी लगायतका १६६ भन्दा बढी लोप भइसकेका र लोपोन्मुख अवस्थामा पुगेका वस्तुहरुको सङ्कलन गरी तिनीहरुलाई सिकाइसँग जोड्ने प्रयास विद्यालयलमा गरिएको छ । ‘रुम टु रिड’ संस्था र सूर्योदय क्लबको संयुक्त आयोजनामा व्यवस्था गरिएको तालिमबाट उत्प्रेरणा मिलेर यहाँ मिनी सङ्ग्राहलय बनेको शिक्षक मीनाकुमारी शर्माले बताउनुभयो । ‘हाम्रो यस विद्यालयमा बालमैत्री शिक्षा भइरहेको छ । आरटीआर र सूर्योदय क्लबको तालिमबाट यति ऊर्जा मिल्यो कि त्यसबाट नै लोप हुन लागेका सामग्रीहरु घरघरमा गएर सङ्कलन गर्न सकियो ।‘

शैक्षिक सामग्रीसहित पढाउँदाखेरि पढाइ दिगो हुने प्रअ कोइरालाको अनुभव छ । ‘हामीले प्रत्यक्ष वस्तु नै देखाएर पढाउँदा यसलाई विद्यार्थीले पछिसम्म पनि सम्झेको पाइयो ।‘ वास्तवमा विद्यालयमा व्यवहारमै बालमैत्री सिकाइ छ । कक्षाकोठाहरु छापायुक्त छन् ।

अहिले यस विद्यालयमा बाहिरबाट विभिन्न विद्यालयका विद्यार्थीहरु तथा शिक्षकहरु मिनी सङ्ग्राहलय हेर्न भनेर आउने गरेका छन् । बाहिरका मानिसहरुले यसको महत्व बुझे । तर यहीँको समुदायले जति बुझ्नुपर्ने हो त्यति विद्यालय नबुझेकोमा प्रधानाध्यापक तथा शिक्षकको गुनासो छ । आकर्षक र सिकाइमैत्री कक्षाकोठा छन् । कक्षाकोठामा सिकाइसँग सम्बन्धित सामग्रीहरु सजाइएको छ । विद्यार्थीले रमाइलो वातावरणमा सिकिरहेका छन् ।

भविष्यमा सङ्ग्राहलयलाई ठुलो र व्यवस्थित बनाएर विद्यालयलाई प्रत्यक्ष सिकाइको उदाहरणीय थलो बनाउने चाहना राखेका प्रअलाई विद्यालमा श्रोत साधनको अभाव टाउको दुखाइको मुख्य विषय बनेको छ । सामुदायिक विद्यालयलाई राम्रो गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नका लागि कम्मर कसेर लागेका प्रअ र शिक्षकहरुलाई आर्थिक सहयोग गर्ने संस्था अहिलेसम्म भेटिएको छैन । सहयोग गर्नुपर्ने संस्थाहरु पनि कानमा तेल हालेर बसेका छन् ।

कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा धेरै कुरा छन् । योग्य र मिहिनेती शिक्षकहरुको टिम छ । प्रअ उत्साही र सक्रिय छन् । यति भएर पनि विद्यालयले संस्थागत विद्यालयमा जाने विद्यार्थीहरुको प्रवाहलाई रोक्न भने सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय