काजिमानका अध्यक्ष आफैले विद्यार्थी पढाउँदै

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


स्याङ्जा, ३ फागुन । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं ३ कुमाल गाउँमा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई.अनुप श्रेष्ठले पढाउन सुरु गरेका छन् ।

विद्यालयका निम्न माध्यमिक तह गणित विज्ञान विषयका शिक्षक सरुवा भई काठमाडौं गएपछि उक्त विषयका कक्षा खालि भएका थिए । चैत्रमा अन्तिम परीक्षा आइरहेको बेलामा विद्यार्थीको पढाइमा समस्या आउने भएको भन्दै अध्यक्ष आफैले कक्षा लिन सुरु गरेका हुन् ।

‘नयाँ शिक्षक केही दिनमा नै आउनुहुन्छ तर विद्यार्थीको कोर्स सकिँदैन कि जस्तो लागेपछि केही दिनदेखि कक्षा ८ र ९ मा विज्ञान विषय पढाइरहेको छु ।‘ अध्यक्ष श्रेष्ठले भने ।

विद्यार्थीहरु पनि अध्यक्ष आफै आएर विद्यालयमा पढाएको देखेपछि दङ्ग परिरहेका छन् । कक्षा ८ की रीतिका केसीले भनिन्, ‘अध्यक्षज्यू आफै आएर हामीलाई पढाइरहनुभएको छ । हामी निकै खुसी छौं ।‘

विद्यालयमा अध्यक्ष यसभन्दा अगाडि पनि नियमित विद्यालय आइराख्ने गरेको भए तापनि यतिबेला एक जना सरको सरुवा भएर पठनपाठनमा केही समस्या हुने देखेपछि अध्यक्ष आफैले कक्षा लिन सुरु गर्नुभएको विद्यालयका सूचना अधिकारी युवराज पौडेलले बताउनुभयो ।

ई.श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हालेपछि विद्यालयले धेरै सुधारका कामहरु गरेको छ । यसभन्दा अगाडि निकै कममात्र विद्यार्थी सङ्ख्या भएर विद्यालय कतै मर्जर हुने त होइन भन्ने चिन्ताका बिचमा श्रेष्ठ अध्यक्ष भएका थिए । श्रेष्ठ अध्यक्ष र प्रधानाध्यापक ऋषिराम शर्मा प्रअ भएपछि विद्यालयमा एकै वर्षमा १२० भन्दा बढी विद्यार्थी थपिएका छन् भने विद्यालयमा थुप्रै भौतिक र शैक्षिक सुधारका कामहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार