तीन दशक अघि हालका राष्ट्रपतिले उद्घाटन गरेको ट्रयाक अहिलेसम्म कालोपत्रे हुन सकेन

२०८० फाल्गुन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का

स्याङ्जा,५ फागुन । स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकाको बयरघारी देखि बानेथोक देउराली विरुवा हुँदै दुलेगौडा जोड्ने बाटो उद्घाटन भएको करिब ३ दशक हुँदा पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । हालका राष्ट्रपति रामचन्द्र पौडेलले २०५४ सालमा उद्घाटन गरेको उक्त सडक अहिलेसम्म पनि उस्तै छ ।

२७ बर्ष अगाडि तत्कालीन समयमा सभामुख बनेर उक्त बाटोको ट्रायक उद्घाटन गर्न स्याङ्जा पुग्नु भएका हालका राष्ट्रपतिले बाटो बिर्सिएपनि बाटो र स्थानीयले भने बिर्सन सकेका छैनन् ।

बयरघारी देखि दुलैगौडा सम्मको  लगभग ५० किलोमीटर रहेको उक्त बाटो र उक्त बाटोबाट सुविधा लिने नागरिकले हालका राष्ट्रपतिलाई सम्झिरहेका छन् । बाटो उद्घाटन गर्ने व्यक्ति नै देशको प्रमुख पदमा पुगेको हुँदा उक्त बाटो अव कालोपत्रे हुनेमा स्थानियहरु आशाबादी रहेको स्थानीय लक्ष्मी खड्काको भनाइ छ । उहाँले हेर्नेकुरा डटकमसंग कुराकानी गर्दै भन्नुभयो “यो बाटो उद्घाटन गर्ने व्यक्तिलाई देशले राष्ट्रपतिको रुपमा पाएको छ त्यसैले यो बाटो कालोपत्रे हुनेमा हामी आशावादी छौं ।”

त्यस्तै अर्का स्थानिय केहर सिंह खड्काले पनि बाटो पिच नहुँदा स्थानीयले धेरै सास्ती भोग्नुपरेको हामीलाई बताउनु भयो । गाउँको बाटो कच्ची भएको र त्यसमा पनि धेरै गाडी नचल्ने हुँदा पालिका वा बजार सम्बन्धी काम परेर जानुपर्यो भने गाडी नपाएर कहिलेकाहीं बास बस्नुपर्ने अवस्था सिर्जना हुने गरेको खड्काले बताउनुभयो । त्यस्तै सोही ठाउँ निवासी बिजय काफ्लेको धारणा पनि उस्तै छ । काफ्ले भन्नुभयो “बाटो नबन्दा पालिका पुग्न समस्या त छ नै त्यस्तै माथी बिरामी भएर अथवा कुनै दुर्घटना भएर अचानक हिँड्नुपर्यो भने गाडी नपाउनु हाम्रो अर्को ठुलो समस्या हो ।” बाटोका कारण समयमा अस्पताल समेत जान नपाएको काफ्ले हेर्नेकुरा डटकमलाई बताउनुभयो ।

कच्ची बाटोका कारण धेरै गाडी चल्न नसक्दा आवतजावतमा समस्या भएको भेसम बहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “तनहुँको सिमानामा हुने नागरिकलाई भिरकोट नगरपालिका पुग्न पर्यो भने एक दिन नै लाग्ने गरेको छ ।” उहाँले बाटो कालोपत्रे भएमा तनहुँ सिमानाका नागरिकलाई भिरकोट नगरपालिका,पोखरा जान र काठमाडौ जाने नागरिकलाई पोखरा हुँदै घुमेर जान नपर्ने हुँदा बाटो निकै छोटो हुने उहाँको भनाइ छ ।

अर्का स्थानिय सरिता खड्काले देशमा जति परिवर्तन भएपनि यहाँका जनताले संघीयताको महसुस गर्न नपाएको गुनासो गर्नुभयो । स्थानीयले २०५२ सालमा बाटो खन्न शुरू गरे पनि हालका राष्ट्रपति पौडेलद्वारा २०५४ सालमा बयरघारी विरुवा बाटोको ट्रयाक उद्दघाटन गरिएको थियो । बाटो कालोपत्रे नहुदा नागरिकलाई निकै सास्ती भएको भिरकोट नगरपालिका ३ का वडाअध्यक्ष केशर बहादुर खड्काको भनाइ रहेको छ । उहाँले भन्नुभयो “स्थानीय देखि पर्यटकलाई समेत आवश्यक रहेको बयरघारी विरुवा दुलेगौडा बाटो यस क्षेत्रको मेरुदण्ड हो यो बाटो कालोपत्रे गर्न अब सबै लाग्नुपर्छ ।”

त्यस्तै भिरकोट नगरपालिकाका नगर प्रवक्ता एबम् वडा १ का वडा अध्यक्ष दिपेन्द्र केसीले संघ र प्रदेशका टेन्डरहरु स्थानीय सरकारसँग समन्वय नहुँदा सरकारले सही लक्ष्य प्राप्ति गर्न नसकेको बताउनुभयो । उहाँले हेर्नेकुरा डटकमसंग कुरा गर्दै भन्नुभयो “यो बाटो कालोपत्रेको लागि बजेट परेको सुन्नमा आएको छ प्रदेश सरकारले ठेक्का पनि लगाई सकेको विभिन्न सञ्चार माध्यममा सुनिएता पनि उक्त ठेकदारले भने अहिलेसम्म स्थानीय सरकारसँग कुनै समन्वय गरेको छैन ।” यसरी स्थानीय सरकारसँग समन्वय नगरी गरिएका ठेक्काले लक्ष्य प्राप्ति गर्न नसक्ने भन्दै प्रवक्ता केसीले संघ र प्रदेशले टेण्डर लगाएपनि कामको मूल्यांकन स्थानीय सरकारलाई दिनुपर्ने जोड दिनुभयो । उहाँले यसरी माथिबाट टेण्डर गरेर माथिबाट नै ठेकेदार आएर काम गर्ने परिपाटीले काम कहिले सकिने हो, काम के हुँदै छ, काम भई रहेको छ या छैन यावत विषयमा बुझ्न गार्हो हुने भन्दै यस्तो परिपाटीले अपनत्वमा कमी आउने धारणा राख्नुभयो । त्यसैले स्थानीय र स्थानीय सरकारलाई अपनत्व हुने गरी ठेक्का प्रक्रिया अघि बढाउन पनि प्रदेश र संघको सरकारलाई उहाँको सुझाव छ ।

देश समृद्धि बनाउँछु भन्नेहरुले राजनीति गरेर सत्ताको स्वाद पटक पटक चाखे पनि उक्त सत्ताको स्वाद यो बाटोले भने पाउन सकेको छैन । हालका राष्ट्रपति पौडेलले उद्घाटन गरेको यो बाटोले राष्ट्रपतिलाई खोजिरहेको छ । जसरी आफूले जन्माएको बच्चा प्रति आमाको सुरक्षा वृद्धि विकास प्रगति स्वास्थ्य माया प्रति चिन्ता रहन्छ त्यस्तै राष्ट्रपतिलाई आफूले उद्घाटन गरेको यो ट्रयाक प्रति कति माया छ भन्ने आगामी दिनमा हेर्न बाकी नै छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार